नवलपुरमा दुर्घटना: सशस्त्र प्रहरी जवानको मृत्यु
नवलपुर। मध्यबिन्दु नगरपालिकामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन्।
दुर्घटनामा परी मोटरसाइकल चालक ३३ नम्बर गुल्म मुस्ताङ दरबन्दी भई हाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा तालिमरत ३५ वर्षीया सशस्त्र प्रहरी जवान राजकुमार बोहोराको मृत्यु भएको हो।
गएराति मध्यबिन्दु-८ फुलबारी उकालोस्थित पूर्व पश्चिम राजमार्गमा कावासोतीबाट दुम्किबासतर्फ जाँदै गरेको बा प्र ०६-००१ क ०४४४ नम्बरको मिनी ट्रकले विपरीत दिशामा गुडिरहेको बा ७६ प २७१७ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको नवलपुर प्रहरीले जनाएको छ।
कावासोती नगरपालिका–१४ सुन्दरबस्तीका ३० वर्षीय जितबहादुर महतो गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए। महतो २६ नम्बर गण पश्चिम नवलपरासी बेलासपुरमा दरबन्दी रही सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा तालिमरत रहेका छन्।
मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले ट्रकका चालक र दुबै सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

