पर्यटन विभागका निर्देशकविरुद्ध ९६ लाख गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागका निर्देशक सचिन्द्रकुमार यादवविरुद्ध गैरकानुनी रूपमा ९६ लाख ८५ हजार ५५३ रुपियाँको सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।
आयोगले बिहीबार उक्त मुद्दा दायर गरेको हो। अनुसन्धानका क्रममा यादवले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको र उक्त सम्पत्ति आफ्नी पत्नी आशाकुमारी यादवको नाममा राखेको पाइएको छ। यसै कारण सम्पत्ति जफत गर्न आशाकुमारीलाई पनि प्रतिवादी बनाइएको छ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, यादवले आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको र अस्वाभाविक रूपमा उच्च जीवनशैली अपनाएको पुष्टि भएको छ। सोही आधारमा अख्तियारले उनविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको हो।
