आज यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन केही कमजोर छ । यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेको छ । हाल देशभर सामान्य बदली छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रहनेछ।
कोशी, मधेस र बागमती प्रदेशका तराई र पहाडी क्षेत्रका केही स्थानमा, साथै अन्य प्रदेशका पहाडी भूभागका केही र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ ।
आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू(भागमा सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। मधेस, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा, साथै अन्य प्रदेशका पहाडी भूभागका थोरै र तराईका एक(दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।
कोशी प्रदेशको तराई र पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ । कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम रहेकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
