स्वास्थ्य मन्त्री र सचिवहरूबीच कार्यसम्पादन सम्झौता
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र मन्त्रालयका सचिवहरूबीच कार्यसम्पादन सम्झौता भएको छ ।
स्वास्थ्य सेवालाई थप प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउने उद्देश्यले मन्त्री पौडेलले स्वास्थ्य सचिव डा। विकास देवकोटा र प्रशासन सचिव डिल्लीराम शर्मासँग एकवर्षे कार्यसम्पादन सम्झौता गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नीतिगत सुधारले मात्र पर्याप्त नहुने, त्यसको कार्यान्वयन तल्लो तहसम्म पुगेर नागरिकले अनुभूति गर्न पाउनुपर्नेमा जोड दिए ।
जनताको सन्तुष्टिलाई केन्द्रमा राखेर काम गर्न र परिणाम देखाउन निर्देशन दिँदै स्वास्थ्य क्षेत्रको वास्तविक मूल्याङ्कन सरकारी प्रतिवेदनले मात्र नभई सेवाग्राहीको सन्तुष्टिले गर्न परिणामलाई प्राथमिकता दिनुपर्ने उनको भनाई थियो ।
साथै मन्त्रालयले अघि सारेका नीतिगत सुधारलाई कार्यान्वयन गरी नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवाको प्रत्याभूति दिलाउन मन्त्री पौडेलले सम्बन्धित निकायहरूलाई निर्देशन समेत दिए ।
सम्झौतामा हस्ताक्षर गर्दै स्वास्थ्य सचिव डा.देवकोटाले मन्त्रीले औंल्याएका समस्या समाधानका लागि मन्त्रालयले ठोस कार्ययोजनाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
