टप इन्ड टी-२० सिरिजः सोमपालको ५ विकेटमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ। बुधबार भएको आफ्नो पाँचौं खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको हो ।

नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको रेनेगेड्स २० ओभरमा १०६ रनमा अलआउट भयो। रेनेगेड्सका अर्जुन नायरले सर्वाधिक २६ रन बनाए। जे लेमिरले १८ तथा ह्‍यारी डिक्सनले १६ रन बनाए।

नेपालका लागि सोमपाल कामीले ४ ओभरमा १७ रन दिएर ५ विकेट लिए भने कुशल भुर्तेलले २ विकेट लिँदा रुपेश सिंह, दिपेन्द्रसिंह ऐरी र शाहब आलमले १-१ विकेट लिए।

त्यसअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो। नेपाल हालसम्म खेलेका ५ खेलमध्ये सुरुवाती ३ खेलमा लगातार पराजित हुँदा त्यसपछि लगातार २ जित निकालेको हो।

नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेश ए सँग ३२ रनले तथा तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो। चौथो खेलमा भने नेपाल होबार्टविरुद्ध ६६ रनले विजयी भएको थियो।

नेपाल हाल ५ खेलमा ४ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ। शीर्ष ४ टोलीले सेमिफाइनल खेल्ने प्रावधान छ। नेपालले यसपछि शुक्रबार पाकिस्तान शाहीन्ससँग खेल्नेछ।