भूमि विधेयकविरूद्ध जसपा नेपालद्वारा देशव्यापी आन्दोलन घोषणा

फाइल तस्वीर

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमि विधेयकविरूद्ध देशव्यापी आन्दोलन घोषणा गरेको छ । शनिबार पार्टीका महासचिव लालबाबु राउतले विज्ञप्ती जारी गर्दै भूमि विधेयकविरूद्ध प्रदर्शनको घोषणा गरेका हुन् ।

विज्ञप्ती अनुसार जसपाले भदौ ९ गतेदेखि देशका विभिन्न सहरूहरूमा प्रदर्शन गर्नेछ । त्यस्तै, जसपाले प्रदर्शनमा सहभागी हुन सम्पूर्णलाई आग्रहसमेत गरेको छ।

जसपा नेपालले भूमिसम्बन्धि विधेयक मुलुक र जनताको हितमा नरहेको, भू–माफिया, जग्गा दलालको हित हुने र यसबाट वन जंगल विनाश भई तराई मधेश मरुभूमिकरण हुने भएकाले आफ्नो दल सुरुदेखिनै यसको विपक्षमा रहेको बताएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको केन्द्रीय सचिवालय बैठकले वन क्षेत्रको जग्गामा हुने अतिक्रमण रोक्न एवं जैविक विविधता र पर्यावरणको संरक्षण गर्न, तराई÷मधेशलाई मरुभूमिकरण हुनबाट जोगाउन तथा जल, जंगल र भूमिको रक्षा गर्न ‘भूमि र वन बचाउँ, मधेसलाई मरुभूमिकरण हुनबाट जोगाउँ’ अभियानअन्तर्गत भूमि विधेयकविरुद्ध कडा प्रतिकार गर्ने र विरोधमा उत्रिने निर्णय गरेको छ।