कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बिहान १० बजे बैठक बस्न लागेको हो।
बैठकमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानामगरमाथिको पदीय आचरण विपरीतको कार्य गरेको भन्दै हटाउन भइरहेको गृहकार्यबारे छलफल हुने बताइएको छ।
यस्तै सङ्घीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी गरेको पाइएपछि विवादमा परेका सभापति रामहरि खतिवडाले राजीनामा दिएकोबारे पनि बैठकमा छलफल हुनेछ।
पदीय आचरण विपरीत काम गरेको भन्दै उपसभामुख रानामगरलाई कांग्रेस र एमालेका सांसदहरूले हस्ताक्षर सङ्कलन गरिरहेका छन् ।
यो कार्यको पार्टीभित्रका इतर समूहका नेता डा.शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विरोध गरेपछि छलफलका लागि देउवाले बैठक बोलाएको बुझिएको छ।
