इम्बोस्ड नम्बर जडान निर्णय कार्यान्वयन नगर्न यातायात मजदुर संगठनको माग
काठमाडौं। यातायात सम्बद्ध मजदुर संगठनहरूले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारसँग माग गरेको छ।
आज(मंगलवार)नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त विज्ञप्ति जारी गर्दै यो निर्णय कार्यान्वयन नगर्न माग गरेको हो।
उनीहरूले यही असोज १ गतेदेखि सम्पूर्ण सवारीसाधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भन्ने बेहोराको यातायात व्यवस्था विभागले भदौ ३ गते जारी गरेको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएका छन्।
‘सरकारी कामकाजको भाषा देवनागरी लिपी अर्थात राष्ट्रलिपीमा हुनुपर्ने प्रावधान रहेको नेपालको संविधानको मर्म विपरीत अंग्रेजी भाषामा लेखिएको र इम्बोस्ड नम्बर प्लेटमा हुने आरएफआइडी (रेडियोफ्रिक्वेन्सी आइडेन्टीटी) चिप्सलाई रिड गर्ने प्राविधिक पूर्वाधारको व्यवस्था नगरी यो निर्णय कार्यान्वयन नगर्न सरकारसँग अपिल गर्दैछौँ,’विज्ञप्तिमा उल्लेख छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०८० साल वैशाख १४ गते प्रकाशित गरेको नेपाल राजपत्रको भाग २ ले इम्बोस्ड नम्बर प्लेटमा रहने अक्षर र अंक देवनागरी लिपी र अंग्रेजी दुवै लिपीको मिश्रित हुनुपर्ने भन्ने व्यवस्था विपरीत यातायात व्यवस्था विभागको यही भदौ ३ गते जारी सूचना राजपत्रको विपरीत रहेको उनीहरूको बुझाइ छ।
विज्ञप्तिमा भनिएको छ,‘सरकारले एक दशकदेखि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरे पनि यसको कार्यान्वयन र परिणाम न्यून छ, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रिन्टसमेत गर्न नसकिरहेको र दुई वर्षसम्म पनि लाइसेन्स नागरिकले पाउन सकिरहेको छैन, यस्तो अवस्थामा देशमा रहेको लाखौँ सवारीसाधनहरूमा इम्बोस्ड नम्बरप्लेट अनिवार्य गर्ने विषय आफैँमा अविश्वासिलो र शङ्कास्पद विषय रहेको छ।’
स्वदेशमै नम्बर प्लेट तयार गर्न सक्ने र साधनहरूको डाटाहरू सुरक्षाका हिसाबले गोप्य विवरणहरू अरू देशको पहुँचमा जान नसक्ने गरी प्राविधिक पूर्वाधारको पूर्ण तयारी गरेर मात्रै सहुलियत शुल्कमा प्रिन्ट गर्न सकिने वातावरणको विकास गर्न पनि माग गरेका छन्।
‘सहुलियत शुल्कमा प्रिन्ट गर्न सकिने वातावरणको विकास गर्दै, सरोकारवालाहरूसँग पर्याप्त छलफल गरेर मात्रै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न हामी जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ।
