साफ यू–१७ च्याम्पियनसिप: नेपालले बंगलादेशसँग खेल्दै

काठमाडौं। दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ च्याम्पियनसिपमा नेपालले दोस्रो लेगको प्रतिस्पर्धामा आज साबिक विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुँदैछ।

आइतबार सम्पन्न बंगलादेशसँगको पहिलो लेगमा नेपाल ३–० ले निराश बनेको थियो। त्यसअघि पहिलो खेलमा भारतसँग ७–० ले पराजित नेपालले दोस्रो खेलमा भुटानमाथि २–१ को पुनरागमन जित हासिल गरेको थियो।

पछिल्ला तीन खेलमा भारतले स्पष्ट ९ अंक बटुलेको छ। त्यसैले उपाधि समीकरणमा टिकिरहने हो भने नेपाललाई जितको विकल्प छैन। हारले नेपालको उपाधि सम्भावना सकिनेछ।

आज नै दोस्रो खेलमा भारतले भुटानको सामना गर्नेछ। पहिलो लेगमा भारतले भुटानलाई ८–० ले हराएको थियो। भारतविरुद्ध हार बेहोरे भुटान उपाधि समीकरणबाट बाहिरिनेछ।