विद्या भण्डारीलाई राजनीतिमा फर्किने ढोका मैले खोलिदिएको हुँ : अध्यक्ष प्रचण्ड

फाइल तस्बिर

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्किने बाटो आफूले खोलिदिएको दाबी गरेका छन् ।

आज विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै उनले आफूले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई राजनीतिमा ल्याएपछि विद्यादेवी भण्डारीलाई पनि राजनीतिमा आउन बाटो खुलेको दाबी गरेका हुन् ।

‘मैले पहिला पूर्व उपराष्ट्रपति जीलाई पार्टीको सक्रिय राजनीतिमा ल्याइसकेपछि त्यसले कहीँ न कहीँ प्रत्यक्ष या परोक्ष विद्याजीलाई ढोका खोल्दिएकै छ,उनले भने ।

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन संविधानले नरोक्ने पनि बताए । उनले भने, ‘हाम्रो संविधानले ऐनले कानुनले कसैले पनि राष्ट्रपतिलाई सक्रिय राजनीतिमा नआउनु भनेको पनि छैन, कुनै पार्टी राजनीतिमा नआउनु भनेको पनि छैन ।

नेकपा एमालेले राष्ट्रपति भएका व्यक्ति सक्रिय राजनीतिमा फर्कन नहुने भन्दै विद्याको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ । प्रचण्ड भने पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्कनु सामान्य भएको बताउँछन् ।