इम्बोस्ड प्लेटमा अर्बौंको घोटाला,उखु किसानको आन्दोलनमाथि दलहरूले राजनीति गरे : संयोजक गजुरेल

काठमाडौं। कम्युनिस्ट समाजवादी पार्टीका संयोजक हरिकृष्ण गजुरेलले नेपालको राजनीतिमा अहिले देखिएका दुई प्रमुख समस्याहरूमाथि तीखो प्रहार गरेका छन्। उनले इम्बोस्ड नम्बर प्लेटको अर्बौं रुपैयाँको अनियमितता र उखु किसानको न्यायलाई बेवास्ता गर्ने सरकारी प्रवृत्तिको एक सञ्चारमाध्यमबाट गम्भीर आलोचना गरेका छन्।

गजुरेलका अनुसार यातायात व्यवस्था कार्यालयमार्फत जारी हुने इम्बोस्ड नम्बर प्लेट योजनामा ठेक्का प्रक्रियादेखि आपूर्ति र वितरणसम्म व्यापक अनियमितता गरेकाे बताए। उनले यो प्रकरणलाई राजनीतिक सत्ता र आर्थिक माफियाबीचको साँठगाँठको जीवन्त उदाहरण भएकाे बताएका छन्।

तराईका उखु किसानले वर्षौंदेखि उद्योगीहरूसँग बक्यौता भुक्तानीका लागि आन्दोलन गरिरहेका छन्। तर सरकारले यस मुद्दालाई गम्भीरताका साथ लिएको छैन, याे माफिया र दलालकाे सरकार हाे । उनका अनुसार ठूला उद्योगीहरूसँग राजनीतिक दलहरूको नातागोता र स्वार्थका कारण किसानले न्याय पाउन नसकेकाे बताएका छन्।

जनताको कर र पसिनामा आधारित अर्थतन्त्रलाई यदि निरन्तर माफिया र ठेकेदारले कब्जा गर्छन् भने किसान र श्रमिक अझै गरिबीमा धकेलिन्छन्। यो क्रम अब तोड्नैपर्ने देखिएकाे गजुरेलले भनेका छन्।

उनले राजनीतिक दलहरूले जनताको मुद्दाभन्दा आफ्नो राजनीतिक लाभलाई प्राथमिकता दिने गरेको टिप्पणी गरेका छन्। गजुरेलका अनुसार इम्बोस्ड प्लेट प्रकरण होस् वा उखु किसान आन्दोलन, दुबैमा राजनीतिक संरक्षण, माफियाको हस्तक्षेप र जनताको मुद्दाको उपेक्षा गरिएकाे बताए। 

उनले भ्रष्टाचार र शोषण विरुद्ध अब जनताले नै स्वतःस्फूर्त उठ्नुपर्ने अवस्था आएको बताएका छन्। नभए दलहरूको सिण्डिकेटले न त किसानलाई न्याय दिनेछ, न त राज्यकोष बचाउनेछ उनले भने।यस्तो बेला जनताले साथ दिए भने आफु नेतृत्व गरेर जनताको आवाज उठाउन अगाडि बढ्ने र माफिया,दलाल र भ्रष्टचारीहरूलाइ जनकारबाही गरेर जनताको ठेगान लगाउने बताए।