पशुपतिमा शवको हड्डी किनबेच प्रकरण स् ४ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं। काठमाडौंको पशुपति आर्यघाटमा शव जलाउने क्रममा हड्डी निकालेर बिक्री गरेको आरोपमा चार जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। पक्राउ पर्नेमा सर्लाहीका ४२ वर्षीय रामनन्दन ठाकुर, काभ्रेका ६१ वर्षीय जीवनाथ ढकाल, उदयपुरका २४ वर्षीय विनायक मैनाली र सप्तरीका ४१ वर्षीय मिश्रीलाल यादव छन्।
प्रहरी वृत्त गौशालाको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि धर्मसम्बन्धी कसुरमा मुद्दा चलाएको हो । न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासमा बयान जारी छ । बयानपछि थुनछेक बहस भई पुर्पक्ष, साधारण तारिख वा धरौटीमा छाड्ने आदेश जारी हुनेछ ।
२३ साउनमा राम शाहीको शव सद्गदका लागि आर्यघाट लगिएको थियो । जीवनाथ र विनायकले शव जलाउने क्रममा टाउकाको हड्डी निकालेर रामनन्दन र मिश्रीलाललाई बिक्री गरेको आरोप छ ।
रामनन्दन, जीवनाथ र विनायकमाथि मुलुकी फौजदारी अपराध संहिताको दफा १५७९१० अनुसार धार्मिक रीतिमा बाधा पुर्याएको कसुरमा मुद्दा चलाइएको छ । यो कसुरमा एक वर्षसम्म कैद, १० हजारसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ । मिश्रीलाललाई मतियारको रूपमा आधा सजायको माग गरिएको छ ।
