सत्ता र शक्तिका लागि ओलीले आफ्नै मित्रमाथि छुरी चलाउँछन्: भीम रावल

काठमाडौं । पूर्वउपाध्यक्ष डा.भीम रावलले नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिलाई निरंकुश र तानाशाही चरित्रको संज्ञा दिएका छन् । बुधवार बालुवाटारमा आयोजित पार्टी नेताहरूको भेलामा ओलीले आफूलाई अपरिहार्य अध्यक्षका रूपमा प्रस्तुत गर्दै अन्य नेताहरूको आलोचना गरेको प्रसंगलाई रावलले सत्ता लिप्साको पराकाष्ठा भनेका छन् ।

रावलले ओलीले विद्या भण्डारीलाई अनुभवहीन र लालगेडी भन्दै होच्याएको, महाधिवेशनमा प्रतिस्पर्धा गरे पराजित हुने धम्की दिएको र आफूसँग प्रतिस्पर्धा गरेकै कारण पार्टीबाट बाहिरिन बाध्य बनाएको आरोप लगाए । उनले चितवनको दशौँ महाधिवेशनमा जनताको बहुदलीय जनवादअनुरूप विधि र प्रणालीमा आधारित उम्मेदवारी दिएको स्मरण गरे।

‘ओलीको सत्ता स्वार्थले मित्र र पक्षधरमाथि समेत छुरी चलाउन सक्ने यथार्थ स्पष्ट भएको छ,रावलले भने । उनले ओलीको अभिव्यक्तिले आफ्नो सिद्धान्त, विधि र प्रणालीप्रतिको अडान सही भएको पुष्टि भएको दाबी गरे। मेरो धारणा र अडान सधैँ पार्टी र देशको दीर्घकालीन हितमा केन्द्रित थियो, तर ओलीको असीमित सत्ता लिप्साले त्यसलाई स्वीकार गर्न सकेन, उनले भने।

बुधवारको भेलामा ओलीले विद्या भण्डारी, ईश्वर पोखरेल र वामदेव गौतममाथि आपत्तिजनक टिप्पणी गरेको बताइए पनि उनको सचिवालयले त्यस्तो कुरा नबोलेको दाबी गर्दै प्रेस नोट जारी गरेको छ। यही शुक्रवारका लागि तय भएको केन्द्रीय कमिटीको बैठक स्थगित गरी ओलीले बालुवाटारमा नेताहरूलाई प्रशिक्षण दिइरहेका छन्।