सर्वहारा संस्कृति र कला-साहित्य
- हस्तबहादुर केसी
” संसारमा आज्ञ सबै संस्कृति , सबै साहित्य र कला विशेष वर्गका अधिनमा छन् र विशेष राजनीतिक दिशातिर हाँकिएका छन् ।वास्तवमा कला कलाको निम्ति , वर्गहरु भन्दा माथिको कला , राजनीतिबाट अलग वा स्वतन्त्र कला भन्ने कुरा केही छैन ।सर्वहारावादी साहित्य र कला सम्पूर्ण सर्वहारावादी क्रान्तिकारी उद्श्येका एक भाग हुन् ; लेनिनले भन्नुभए झै , ती सम्पूर्ण क्रान्तिकारी मेशीनका दाँती र पेच – किला हुन् ।” – माओ त्सेतुङ , ” साहित्य र कला सम्बन्धि यनान – गोष्ठीमा प्रवचन ” ( मे १९४२ ) सर्वहारा संस्कृति भनेको के हो ? आदि विषयमा प्रकाश पार्ने प्रयत्न गरिएको छ ।
सर्वहारा संस्कृति भनेको यो संस्कृति हो , जसले विश्व सर्वहारा श्रमजीवी वर्गका सबै हितहरुलाई उजागर गर्दछ । यसले समाज , सामाजिक रितिथिति परम्परा र पुराना भेदभावपूर्ण सामाजिक सम्बन्धहरुलाई समूल नष्ट गरेर शोषित पीडित र विपन्न वर्गको प्राथमिकताको आधारमा नयाँ रीतिथिति , परम्परा , संस्कार , सामाजिक सम्बन्ध स्थापित गर्दछ र गर्ने प्रयत्न गर्दछ । त्यसमा अबरोध ल्याउने सबै कुराको विरुद्ध निर्मम संघर्ष गर्दछ ।
सर्वहारा संस्कृतिले सबै प्रकारका सामन्ती , पछौटे , पुरातनवादी पुँजीवादी विकृतिहरुसित निर्मम संघर्ष गर्दछ । सर्वहारा संस्कृतिको मुख्य लक्ष्य शोषण , शोषण प्रथा कायम गर्ने तरिकाहरु आम शोषित पीडित वर्गलाई पीर मर्कामा पार्ने , आफ्नो , आफ्नो मोजमस्ति , आफ्नो मनोरञ्जन आदिका लागि विपन्न वर्गका मान्छेलाई बाध्य बनाएर उपयोग गर्ने सामन्ती , पुँजीवादी र अवसरवादी क्रियाकलाप , संस्कार , संस्कृतिलाई ध्वस्त पार्नु हो ।
सम्पूर्ण मेहनतकस जनताका साथै सर्वहारा वर्गले आफ्नो हक , हित र स्वार्थ अनुरुप , सबै प्रकारका क्रियाकलाप , संस्कार र संस्कृतिको निर्माण गर्ने , संरक्षण गर्ने र तिनको विकास गर्ने काम सर्वहारा संस्कृतिले गर्दछ। त्यसैले माओ त्सेतङले भन्नुभएको छ , ” हाम्रा सबै साहित्य र कला जन – समुदायको निम्ति हुन् र सर्वप्रथम मजदुर , किसान र सिपाहीहरुको निम्ति हुन् ; ती मजदुर , किसान र सिपाहीहरुको निम्ति सृजिएका हुन् र उनीहरू कै उपयोगको लागि हुन्।”- माओ त्सेतुङ ,” साहित्य र कला सम्बन्धि यनान – गोष्ठीमा प्रवचन ” ( मे १९४२ ) हो माओ त्सेतुङले भन्नुभएको कुरा एकदम सही छ।
सर्वहारा संस्कृतिलाई आम जनताका बीचमा पुर्यनउने र समाजलाई क्रान्तिकारी रुपान्तरण गर्ने ऐतिहासिक दायित्व मात्र मार्क्सवाद – लेनिनवाद – माओवाद पथप्रदर्शन र मार्गदर्शक सिध्दान्तमा सञ्चालन गरिएको नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्र गर्न सक्दछ । कसरी भने नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी सर्वहारा वर्गको संगठित राजनीतिक अग्रदस्ता हो र ऊ मिलिट्यान्स हुन्छन् । त्यस प्रकारको कम्युनिस्ट पार्टीसित जन सेना हुन्छ , राजनीतिक संयुक्त मोर्चा हुन्छ । ऊ जनताको बीचमा जन्मेर जनताको बीचमा भिजेको , हुर्केको हुन्छ । जनता र नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टीका बीचमा नङ र मासुको सम्बन्ध हुन्छ ।
जनता र कम्युनिस्ट पार्टीको बीचमा सम्बन्ध , सम्पर्क टुट्दै गयो भने त्यहाँ प्रतिक्रान्ति हुन्छ । रुसी मोडलको समाजवाद र चिनिया समाजवादमाथि प्रतिक्रान्ति हुनुको मुख्य कारण कम्युनिस्ट पार्टी जनताको बीचबाट टाडिनु हो । यी समस्याहरुको समाधानका निम्ति माओ त्सेतुङ अगाडि भन्नु हुन्छ , ” क्रान्तिकारी संस्कृति बहुसंख्यक जनताको निम्ति शक्तिशाली क्रान्तिकारी हतियार हो । यसले क्रान्ति आउनु भन्दा अघि विचारधारात्मक रुपले भूमि तयार पार्छ र यो क्रान्तिको बेलामा व्यापक क्रान्तिकारी मोर्चामा साँच्चै आवश्यक , संघर्षशील एक मोर्चा हो ।”
– माओ त्सेतुङ,” नयाँ जनवादका विषयमा ” ( जनवरी १९४० ) ।
अत: माओले भन्नुभएका निर्देशन र शिक्षाहरुलाई आत्मसात गर्दै नयाँ ढंगको क्रान्तिकारी मालेमावादी कम्युनिस्ट पार्टी आवश्यक पर्दछ । पार्टीका विचारहरु जनताको बीचमा पुर्याउने मुख्य दायित्व पार्टीका कार्यकर्ताहरुको हुन्छ । त्यसैले पार्टीले पार्टी स्कुलिङ मार्फत कार्यकर्ताहरुलाई मार्क्सवाद -. लेनिनवाद – माओवादका आधारभूत सिध्दान्तहरुका विषयमा प्रशिक्षण गर्ने र गराई राख्नुपर्ने हुन्छ।
त्यस पछि ती निपुण र दक्ष कार्यकर्ताहरुले पार्टी विचारहरुलाई जनताका बीचमा पुर्याउने काम गर्दछन् । त्यसैले आफ्ना कार्यकर्ताहरुलाई पहिलो नम्बरमा पार्टी स्कुलिङ गर्नुपर्ने हुन्छ । पार्टी स्कुलिङ गर्ने कार्य पार्टी नेतृत्वको लागि कष्टसाध्य काम भएकोले कम्युनिस्ट पार्टीहरले पार्टी स्कुलिङ विरलै र झारा टार्ने काम गरेका हुन्छन् । नेपालका कम्युनिस्ट पार्टीहरु संकुलिङका विषयमा पछौटे छन् ।
ती समस्याहरुबाट मुक्ति पाउनका लागि कमरेड माओ त्सेतुङले यहानिर जो आदेश तथा शिक्षा जारी गर्नु भएको ” साहित्य र कलाको क्षेत्रमा हाम्रा कार्यकर्ताहरुले यस कर्तव्यलाई अवश्य पुरा गर्नु पर्दछ र उनीहरूले आफ्नो पुरानो अडानलाई छोड्नु पर्छ ;उनीहरूले मजदुर – किसान र सिपाहीहरुको पक्षमा ,सर्वहारा वर्गको पक्षमा,उनीहरूका बीचमा गहिरिएर जाने क्रमद्वारा र व्यवहारिक संघर्षका बीच गहिरिएर जाने क्रमद्वारा क्रमशः आफ्नो पाइला चाल्नै पर्छ ।यसरी मात्र हामीले साँच्चि नै मजदुर – किसान र सिपाहीहरुको निम्तिकै साहित्य र कला , साँच्चैको सर्वहारावादी साहित्य र कला पाउने छौ।
” – माओ त्सेतुङ , ” साहित्य र कला सम्बन्धि यनान गोष्ठीमा प्रवचन ” ( मे १९४२)।
कमरेड माओ त्सेतुङका यी शिक्षाहरु आज पनि विश्व सर्वहारा एवं क्रान्तिकारी कम्युनिस्टहरूले आत्मसात गर्न जरुरी छ। एक नम्बरमा त नेपालका कम्युनिस्टहरू शिक्न र जीवन व्यवहारमा साँच्चिकै लागु जरुरी छ।
लेखक : वरिष्ठ मार्क्सवादी दार्शनिक एवं अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ।
