लिपुलेक-कालापानी नेपालकै भूमि,भारत-चीन सम्झौताप्रति प्रधानमन्त्रीको आपत्ति उचित: गृहमन्त्री लेखक

काठमाडौं। गृहमन्त्री रमेश लेखकले लिपुलेक-कालापानी नेपालको भूमि रहेको पुनः पुष्टि गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारत-चीन सम्झौताप्रति जनाएको आपत्तिलाई उचित भन्नु भएको छ।

प्रेस युनियन पर्साद्वारा वीरगन्जमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले नेपालको स्पष्ट अडान व्यक्त गर्नुभएको हो। उहाँले भन्नुभयो,त्यसो भएको हुनाले हामीले हाम्रो भूमिलाई हाम्रो भूमि हो भनेर भन्दा कुनै देशसँग हाम्रो सम्बन्ध बिग्रनुपर्ने कारण छैन। मित्र राष्ट्र भारतले पनि चित्त दुखाउनुपर्ने कुरा छैन, किनभने त्यो भूमि हाम्रो हो। यसमा हामीहरु प्रष्ट छौँ।

चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले लिपुलेख-कालापानी नेपालको भूमि भएको भन्दै भारत र चीनबीच भएको सम्झौताप्रति आपत्ति जनाउनुभएको छ। गृहमन्त्री लेखकले प्रधानमन्त्रीको यो अडानलाई ठीक भएको बताउनुभएको छ।

उहाँले भन्नुभयो, त्यो कुरामा हामी प्रष्ट भन्न चाहन्छौं त्यसमा आपत्ति छैन। र, हाम्रो भूमि हाम्रो हो भन्दा कुनै मुलुकले पनि चित्त दुखाउनुपर्ने कारण पनि छैन। यो हाम्रो हो हामी भनिरहन्छौं,यसले सम्बन्ध बिग्रनुपर्ने कुरा पनि छैन।

गृहमन्त्री लेखकले देशमा बढ्दै गएको अवैध कारोबारलाई नियन्त्रण गर्न सबै सम्बन्धित निकायको समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले प्रहरी, प्रशासन र भन्सारले एकसाथ मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो।यसरी सबै मिलेर काम गर्यो भने अवैध व्यापार, पैठारी, निकासी नियन्त्रण गर्न सकिन्छ,त्यसकारण सबै मिलेर काम गर्नुपर्छ, उहाँले भन्नुभयो।

धार्मिक सद्भावनाको विषयमा बोल्दै गृहमन्त्री लेखकले नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक समाज भएकोले सबै मिलेर बस्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले सञ्चारजगतले धार्मिक द्वन्द्व घटाउने काममा सहयोग गर्नुपर्ने बताउनुभएको छ। यदाकदा धार्मिक द्वन्द्व फैलाउने काम भइरहन्छ,यसमा सञ्चारजगतले द्वन्द्वलाई घटाउने काम गरिदिनुपर्छ, उहाँले भन्नुभयो।

संविधान संशोधनको विषयमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफमा गृहमन्त्री लेखकले नेपाली कांग्रेस र एमाले स्पष्ट रहेको बताउनुभयो। तर उहाँले संविधान संशोधन राष्ट्रिय सहमतिको वातावरणमा हुनुपर्ने बताउनुभयो।

नेपाली कांग्रेस र एमालेले गरेर मात्र हुँदैन, राष्ट्रिय सहमतिको वातावरण गरेर सहमतिका साथ संविधान संशोधन हुनेछ,उहाँले भन्नुभयो। यसका लागि दलहरूले आ-आफ्नो पार्टीमा कमिटी गठन गरेर अगाडि बढ्ने छलफल भइसकेको उहाँले बताउनुभयो।

वीरगन्जमा देखिएको हैजाको समस्याको सम्बन्धमा गृहमन्त्री लेखकले सरकारले सबै आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो। औषधी, थप जनशक्ति र अन्य आवश्यक सहयोग प्रदान गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ।