दलाल संसदीय व्यवस्था पूर्ण असफल,जेनजी आन्दोलन जनताको विद्रोह हो: संयोजक हरिकृष्ण गजुरेल
काठमाडौं। कम्युनिस्ट समाजवादी पार्टी, नेपालका संयोजक हरिकृष्ण गजुरेलले वर्तमान राज्यसत्तालाई पुँजीवादी संरचनामा आधारित, शोषणमुखी, भ्रष्टाचारग्रस्त र जनविरोधी भन्दै कडा आलोचना गरेका छन्। उनले हालै सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा जेनजीको नेतृत्वमा भएको आन्दोलनलाई जनताको वास्तविक विद्रोह भएको दाबी गरेका छन्।
गजुरेलले दलाल संसदीय व्यवस्थाका कारण मुलुक अत्यान्तै संवेदनशील तथा संकटपूर्ण अवस्थामा पुगेको बताएका छन्। उनले भने सत्ताधारीहरूले राज्यसत्ताको चरम दुरुपयोग गरेर जनतामाथि हदैसम्मको शोषण र दमन गर्दै विदेशीहरूका सामु लम्पसार परेर सत्तामा टिक्नका लागि जस्तोसुकै राष्ट्रघाती सन्धि सम्झौता गर्न पछि परेका छैनन्।
मुलुकमा चरम भ्रष्टाचार, लूट, तस्करी र बेथिति विकृतिका कारण जनता रोग, भोक, अभाव र अशिक्षाबाट ग्रसित हुन पुगेको उनको आरोप छ। करोडौंको संख्यामा युवायुवतीहरूलाई विदेशिन बाध्य पारिएको र विदेशीहरूसँग सन्धि सम्झौताका कारण मुलुक विदेशीको क्रीडास्थल बन्न पुगेको उनले आरोप लगाएका छन्। मुलुकका स्रोत र साधनहरू बिचौलिया, तस्कर र माफियाहरूको हातमा केन्द्रित भएको उनको दाबी छ।
यी समस्याहरूका विरुद्धमा आफ्नो पार्टीले जागरण अभियान, मार्च अभियान, राष्ट्रिय मुक्ति एकता अभियान मार्फत जनतालाई सुसूचित एवं आन्दोलित गर्ने काम गर्दै संघर्षका कार्यक्रमहरूलाई निरन्तर अगाडि बढाउँदै लगेको गजुरेलले विज्ञप्तिमा उल्लेख गरेका छन्।
यही भदौ २३ गतेदेखि जेनजीको अगुवाइमा भएको आन्दोलन जनताको अपार सहभागितासहित विद्रोहमा परिणत भएको उनको दाबी छ। यो आन्दोलनले दलाल पुँजीवादी संसदीय व्यवस्था असफल साबित गरेको उनले भनेका छन्।
सामाजिक सञ्जालमाथिको प्रतिबन्धलाई तत्काल कारण बनाएर सुरु भएको यो आन्दोलन पछि भ्रष्टाचार र सुशासनका व्यापक मुद्दाहरूमा केन्द्रित भएको थियो। प्रदर्शनकारीहरूले सरकारी भवनहरूमा आक्रमण गर्ने, व्यापारिक प्रतिष्ठानहरूमा तोडफोड गर्ने र सरकारी सम्पत्तिमा आगो लगाउने जस्ता घटनाहरू भएका थिए।
प्रहरीले प्रदर्शनकारीहरूलाई नियन्त्रण गर्न गोली चलाउदा ३० जना भन्दाबढीको मृत्यु र ६०० भन्दा बढीहरू घाइते भएका छन्। यो आन्दोलनको दबाबमा प्रधानमन्त्रीले राजीनामा दिएर भाग्नु पर्ने अवस्था सृजना भएको थियो।
यो आन्दोलनले नेपालको राजनीतिक परिदृश्यमा प्रभाव पारेको छ र देशको शासन व्यवस्थामा आमूल परिवर्तनको सम्भावना बलियो बनेका छन्। विशेष गरी युवाहरूको असन्तुष्टि र तिनीहरूको राजनीतिक सक्रियताले भविष्यमा नेपालको राजनीतिक दिशालाई कता लान्छ त्यो भने हेर्न बाँकी छ।
बाँकी प्रेस विज्ञप्ति हेर्नुस्…..

