जेनजी आन्दोलनमा मारिनेको संख्या ५५ पुग्यो

काठमाडौं । जेनजी आन्दोलनका क्रममा मारिनेको संख्या ५५ पुगेको छ । यही भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइते भएका थप चार जनाको पनि मुत्यु भएको हो ।

आन्दोलनमा जेनजी युवा, प्रहरी, कैदी र सर्वसाधारण गरेर कुल ५५ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार जेनजीतर्फ २१, कैदी ९ जना, नेपाल प्रहरीका सहायक निरीक्षकसहित तीन जनाको आन्दोलनको क्रममा मृत्यु भएको हो ।

आन्दोलनका क्रममा १८ जनाको भने आगलागीमा परेर, करेन्ट लागेर मृत्यु भएको हो । कतिपय घाइतेको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान प्रहरीको छ ।

जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनीमा परेर एकजना भारतीय नागरिकको पनि मृत्यु भएको छ । सनाखत भएकाहरुको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोष्टमार्टम सुरु गरिएको छ ।