जेनजीको आडमा राजनीतिक दलले ल्याएका परिवर्तनमाथि धावा बोलिँदैछः प्रकाशमान सिंह
काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेनजी आन्दोलनको आडमा राजनीतिक दलहरूले ल्याएका उपलब्धिहरू केही होइनन् भन्ने भाष्य सिर्जना गर्ने दुष्प्रयास भइरहेको बताएका छन्।
बिहीवार गणेशमान सिंहको २८ औं पुण्यतिथिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले प्राप्त गरेका अधिकार सुरक्षित राख्दै त्यसलाई संस्थागत गरेर आम नेपाली जनताको चाहनाअनुसार काम गर्नुपर्ने जिम्मेवारी रहेको बताए।
उनले जेनजीको प्रदर्शनको आडमा कोइराला निवास,कृष्णप्रसाद भट्टराईको आश्रम, सिंहदरबार, संसद भवन लगायतका सरकारी सम्पत्तिमा आगजनी गरिएको भन्दै यसको निष्पक्ष छानबिन हुनुपर्ने माग राखे। लोकतन्त्रमाथि खेल्ने काम नगर्न पनि चेतावनी दिनुभयो। यसमा सरकार र राजनीतिक दलहरू सतर्क हुनुपर्ने उनको भनाइ छ।
नेता सिंहले लोकतन्त्रात्मक पद्धतिमा जनताले चित्त नबुझाएको कुराहरू सुधार गरेर राजनीतिक दलहरू अघि बढ्नुपर्ने बताए। अहिलेको परिस्थितिबाट देशलाई माथि उकास्न अबका दिनमा नेपाली कांग्रेसले नेतृत्व लिएर अघि बढ्ने बताए। जनतालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्नुपर्ने सन्देश अहिलेको आन्दोलनले दिएको बताए।
