काठमाडौंबाट बाहिरिनेको संख्या बढ्यो

काठमाडौं। काठमाडौँ ​उपत्यकाबाट दशैँका लागि थातथलो फर्किनेको संख्या बढेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा ५६ हजार यात्रु बाहिरिएका छन्।

राजमार्गमा रहेको अवरोध हटेपछि यात्रा केही सहज बनेको छ। उपत्यका ट्राफिक प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार असोज १ गतेयता चार लाख १० हजार ९९४ जनाले उपत्यका छाडेका छन्।

यो अवधिमा ६५ हजार ३९९ सवारी बाहिरिएका छन्। यो बिचमै तीन ६ हजार ९३७ सवारी र तीन लाख ६०२ जना उपत्यका भित्रिएका छन्। अहिले काठमाडौं उपत्यकासँग जोडिएका सबै सडकमा सवारीसाधनको चाप बढेको छ।

उपत्यकाको कलंकी, बल्खु, जडीबुटी, जगाती, चाबहिल, नयाँ बसपार्क, बालाजु, माछापोखरीलगायत स्थानमा घर फर्किने यात्रुको बाक्लो उपस्थिति हुने गरेको छ।

दशैँको वेला १५ लाखभन्दा बढी मानिसले उपत्यका छाड्ने गर्छन्। ट्राफिक प्रहरीले बसपार्कसहितका क्षेत्रमा सहायता कक्ष पनि राखेको छ। विमानस्थलमा पनि आन्तरिक र अन्र्तराष्ट्रिय दुबै टर्मिनलमा घर फर्कनेहरुको घुइँचो देखिन्छ।