‘जेनजी हुँ’ भन्दै ड्युटीमा खटिएका प्रहरीलाई धम्क्याउने युवा पक्राउ

सुर्खेत । ड्युटीमा खटिएका प्रहरीलाई ‘जेनजी हुँ’ भन्दै धम्क्याउने एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जाजरकोटको जुनिचाँदे गाउँपालिका–३ का २४ वर्षीय लोकेन्द्रनाथ योगी रहेका छन्। उनले आइतबार दिउँसो ४ बजे सुर्खेत–जाजरकोट जोड्ने मध्यपहाडी लोकमार्गअन्तर्गत छेडागाड नगरपालिका–२, सुयाडा नजिक ड्युटीमा खटिएका प्रहरीलाई धम्क्याएका थिए।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हरिराम डाँगीका अनुसार योगी र उनका चार साथीसहित दुई मोटरसाइकलमा आएका थिए। लुम्बिनी प्रदेश–५०–प–३९६६ र मधेश प्रदेश–३०–प–५४९४ नम्बरका ती मोटरसाइकलमा सवार समूहले मादक पदार्थ सेवन गरेर सडकमै पल्टिरहेका थिए।

प्रहरीले उनीहरूलाई सडक खाली गर्न आग्रह गर्दा लोकेन्द्रले प्रहरीमाथि गालीगलौज गर्दै धम्की दिएका थिए। उनले प्रहरीसँग हातपात गर्न खोज्दै अभद्र व्यवहारसमेत गरेका थिए।

घटनास्थलमै पक्राउ परेका योगीमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट ६ दिनको म्याद थप गरी उनलाई हिरासतमा राखिएको छ।