टियु क्रिकेट मैदानको निर्माण कार्य चाँडो सक्न मन्त्री घिसिङको निर्देशन
काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानको निर्माण कार्य तीव्र गतिमा सम्पन्न गरी हस्तान्तरण गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।
बिहीबार मैदानको स्थलगत निरीक्षण गर्दै मन्त्री घिसिङले मङ्सिरमा आयोजना हुने दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) नजिकिँदै गएकाले निर्माण कार्य छिटो सम्पन्न गर्न जोड दिएका हुन्। मन्त्री घिसिङका अनुसार प्याराफिट निर्माणको काम लगभग सकिएको छ भने फ्लडलाइट जडान एक महिनाभित्र पूरा हुनेछ ।
उनले एनपिएलअघि पहिलो चरणको काम सम्पन्न हुने र दोस्रो तथा तेस्रो चरणको कामका लागि टेन्डर प्रक्रिया सुरु हुने बताए । उनले बजेट अभाव हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले आगामी दुई-तीन हप्तामा मैदान नयाँ स्वरूपमा तयार हुने र मङ्सिर १ बाट एनपिएल आयोजना गर्न क्यान तयार रहेको जानकारी दिए ।
कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्याराफिट र फ्लडलाइट जडानको सम्झौता २०८१ फागुनमा भएको थियो । तोकिएको समयमा काम नसकिएपछि म्याद थप गरी निर्माण कम्पनीले काम गरिरहेको छ ।
