चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ मजदुरको मृत्यु
काठमाडौं । चितवनमा किसान दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु भएको छ । आज बिहान रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलमा रहेको दाना उद्योगको पर्खाल भत्किँदा उद्योगमा काम गर्ने ३ जना मजदुरको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चितवन खैरहनी नगरपालिका २ का शुकराम दराई, गोरखा घर भई रत्ननगर १२ बस्ने रेशम दराई र रत्ननगर नगरपालिका १२ बस्ने कमल गुरुङ रहेका छन् । उनीहरुको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।
सो घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा पर्सा घर भई रत्ननगर नगरपालिका १२ बस्ने वर्ष जितेन्द्र महतो र अंकजप्रसाद थारु छन् । उनीहरु दुवैको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ।
इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी सुवास भट्टका अनुसार दाना उद्योग भित्रको पार्टिसन गरेको १० इन्च बाक्लो इँट्टाको गाह्रो अचानक भत्किएर घटना भएको हो । यसमा बारेमा थप अनुसन्धान भैरहेको उनले जानकारी दिए

