जेनजी प्रदर्शनमा प्रहरीको हतियार लुट्ने युवक पक्राउ
काठमाडौं। जेनजी प्रदर्शनको क्रममा प्रहरीको एसएलआर ‘सेल्फ लोडिङ राइफल’ लुट्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१३ कुसुन्ती घर भएका ३६ वर्षीय सम्राट भनिने राजु परियार हुन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुर शाखाले उनलाई मंगलबार सुनाकोठीबाट पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको छ।
उनीविरुद्ध आपराधिक उपद्रो सम्बन्धी कसुरमा अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। भिडियोमा प्रदर्शन गरेको हतियार परियारले नेपाली सेनालाई बुझाएको प्रहरीसँग बताए पनि हतियार बुझाएको प्रमाण नभेटिएको अनुसन्धानमा संलग्न एक अधिकारीले जानकारी दिए ।
ललितपुर महानगरपालिका-१३ कुसुन्ती घर भएका परियारले २४ भदौमा भएको जेनजी आन्दोलनमा राइफल लिँदै उच्छृङ्खल गतिविधि गरेको भिडियो र तस्बिर भाइरल बनेको थियो ।
टाउकोमा क्याप र मुखमा कालो मास्क लगाएका परियारले माथिको कपडा भने फुकालेका थिए । उनको छातीमा ट्याटु खोपेको पनि भिडियोमा देखिन्थ्यो ।
राइफल बोकेर पोजिसन लिएको तस्बिर भाइरल भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले समेत उनको खोजी सुरु गरेको थियो । घटनाको एक महिनापछि अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको हो ।
एसएलआर बोकेर सिंहदरबारको गेट अगाडि पोजिसन लिएको भिडियो भाइरल भए पनि उनको यकिन नाम तथा ठेगाना खुलेको थिएन । प्रहरीले लामो अनुसन्धानपछि उनको ठेगाना पत्ता लगाएको थियो ।
त्यसपछि बल्ल उनी पक्राउ परेका थिए । पक्राउ गरेपछि प्रहरीले अनुसन्धान गर्दै विगतको ट्र्याक रेकर्ड केलाउँदा परियार ८ वटा मुद्दा चलेका व्यक्ति रहेको पाइएको छ ।
प्रहरीको अभिलेखमा उनीविरुद्ध ज्यान मार्ने उद्योग, अभद्र व्यवहार र ठगीका मुद्दा दर्ता भएका थिए । २०६४ माघ २० गते जिल्ला प्रहरी परिसर काठमाडौँबाट ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो। २०७० असोज १४ गते पनि ललितपुरकै रोमन महर्जनको जाहेरीले ज्यान मार्ने उद्योगमै मुद्दा दर्ता गरिएको थियो।
२०७५ पुस १३ गते नयाँ बानेश्वर वृत्तबाट ठगी सम्बन्धी कसुरमा मुद्दा चलेको थियो । उनीविरुद्ध रवि तामाङले ठगीको जाहेरी दिएका थिए। महाराजगञ्ज वृत्तबाट बैंकिङ कसुरको मुद्दामा पनि उनलाई प्रतिवादी बनाइएको अभिलेख फेला परेको छ।
राजकुमार खड्गीको जाहेरीले २०७९ पुस १७ गते यो मुद्दा दर्ता भएको थियो। जिल्ला प्रहरी परिसर ललितपुरमा मिक्सार तामाङको जाहेरीले ठगी सम्बन्धी मुद्दा दुई वर्ष पहिले पनि चलेको थियो। २०८० साउन ७ गते यो मुद्दा दर्ता भएको थियो।
२०६५ भदौ १० गते पनि अर्को मुद्दा परेको थियो। गोविन्द रिमालको जाहेरीले उनीविरुद्ध अभद्र व्यवहारको मुद्दा चलेको थियो। अभद्र व्यवहारमै रवि तामाङको जाहेरीले नयाँ बानेश्वर वृत्तबाट २०७५ पुस १३ गते पनि उनीविरुद्ध मुद्दा चलाइएको खुलेको छ।
२०७१ वैशाख १९ गते प्रहरी वृत्त स्वयम्भुबाट ठगी सम्बन्धी अर्को कसुरमा उनलाई प्रतिवादी बनाइएको थियो । सुदन बैजुले उनीविरुद्ध ठगी सम्बन्धी कसुरमा जाहेरी दिएका थिए । उनीमाथि काठमाडौँ प्रहरी परिसरले थप अनुसन्धान अगाडि बढाएको छ।

