पन्ध्र शय्याका दुई आधारभूत अस्पताल सञ्चालनमा
तम्घास । देशभरमा नै १५ शय्याका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ श्ययाका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन्।
तत्कालीन सरकारले गाउँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले ०७७ मङ्सिर १५ गते देशभरका ३९६ पालिकामा पाँच, १० र १५ शय्याका अस्पताल शिलान्यास गरेको थियो। जसमा जिल्लाको चन्द्रकोट र गुल्मीदरबार गाउँपालिकाका दुई अस्पताल निर्माण सम्पन्न भई सञ्चालनमा आएका हुन्।
पछिल्लो पटक चन्द्रकोट गाउँपालिका–६ मा बिहीबारदेखि आधारभूत अस्पताल सञ्चालनमा आएको हो। पालिका अध्यक्ष युवराज केसीका अनुसार गाउँपालिकाको विज्ञापनमार्फत एक र लुम्बिनी प्रदेशको छात्रवृत्ति करार एक गरी दुईजना एमबिबिएस् डाक्टरको व्यवस्था गरिएको छ। तुल्सीभक्त अर्जुन व्युल्डर्स जेभीले रु १३ करोड ६६ लाखमा भवन निर्माण गरी पालिकालाई हस्तान्तरण गरेको थियो।
अस्पतालमा अब ल्याब, बर्थिङ सेन्टर, भिडियो एक्सरेलगायत ओपिडी सेवाहरू सञ्चालन हुनेछन्। गुल्मीदरबार गाउँपालिका–३ मा गत वैशाख २४ गतेबाट आधारभूत अस्पताल सञ्चालनमा आएको थियो। बिकोई अर्जुन न्यू लिजा गुल्मीले दुई वर्षअघि रु १२ करोड ९४ लाखमा भवन निर्माणको काम सकेको थियो।
दुईजना एमबिबिएस डाक्टर लुम्बिनी प्रदेशको छात्रवृत्ति करारबाट आएको र अन्य जनशक्ति पालिकाले व्यवस्थापन गरेर अस्पताल सञ्चालन गरेको छ। अहिले अस्पतालमा १२ जना जनशक्ति रहेको स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले जानकारी दिए।
गुल्मी दरबारको आधारभूत अस्पतालमा प्रसूति गराउने दुईजना जनशक्ति काजमा ल्याइएको छ। दुवै अस्पतालमा चौबीसै घण्टा इमर्जेन्सी सेवा, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसी, ल्याब, अक्सिजन, निःशुल्क प्रसूति सेवा, गर्भपतनलगायतका सेवा सञ्चालनमा छन्।
गुल्मी दरबारका स्वास्थ्य संयोजक अर्यालका अनुसार अहिले आधारभूत अस्पतालमा दैनिक ३० देखि ३५ जनाले सेवा लिइरहेका छन्। चन्द्रकोटमा बाग्लुङको बरेङसम्म र गुल्मी दरबारमा रेसुङ्गा नगरपालिकाको दुविचौरसम्मका नागरिकले सेवा लिएका छन्।आधारभूत अस्पतालमा स्वास्थ्य बिमा लागू गर्न सकियो भने राम्रोसँग सञ्चालन गर्न सकिन्छ, गुल्मीदरबारका स्वास्थ्य संयोजक अर्यालले भने।
