हचुवाको भरमा लगानी,अहिले गल्र्यामगुल्युम

बुढापाकाले भन्थे, ‘कागले कान लग्यो भनेर कागको पछि दौडिने होइन आफ्नो कान छ कि छैन भनेर छाम्ने हो ।करोडौं सर्वसाधारणले सेयरमा लगानी गरेका छन्। सेयर बैंक, वित्तिय संस्था, जलविद्युतलगायत कम्पनीहरुले एक सय प्रतिकित्तामा निष्काशन गर्ने गर्छन् । एक सय कित्ताको सेयर मूल्य बढाएर ३२ सय पुर्याइयो ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी हुँदा ३२ सयको सेयर १६ सयमा झरेको थियो । त्यतिबेला बजारमा भनिन्थ्यो, सेयर एक हजारमा झर्छ । सोही समयमा अर्थात् ०७९ पुस ११ गते एमाले उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री भए । उनी अर्थमन्त्री हुनासाथ १६ सयको सेयर २५ सय पुग्यो । ०८२ जेठ ६ गते राष्ट्र बैंकको गर्भनरमा विश्व पौडेल नियुक्त भए ।

२४ सयमा झरिसकेको सेयर ३१ सय पुग्यो । सेयर दलाली तथा लगानीकर्ताहरु भन्थे, अब सेयरको मूल्य ४५ सय पुग्छ । गत भदौ २३ र २४ गते जेनजी पुस्ताले देशभर आन्दोलन गरे । झण्डै ८० जनाले ज्यान गुमाए भने हजारौं घाइते भएका छन् । आन्दोलनमा खर्बौको सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी हुँदा खरानी बनेको छ ।

सहकारी, लघुवित्त र फाइनान्स डुबेको धेरै भइसक्यो । बैंकमा पनि समस्या आइरहेको छ । अहिले जलविद्युत कम्पनीहरु पनि संकटमा छन् । जसको प्रभाव सेयरमा देखिँदैछ । ३१ सय पुगिसकेको सेयर २४ सयमा झरेको छ । जबकी दलालीहरुले सेयर ४५ सय पुग्ने ठोकुवा गरेका थिए । अहिले बजारमा भनिन्छ–केही समयपछि एक सयमा समेत सेयर बिक्दैन ।

बैंक, वित्तिय संस्था वा हाइड्रोपावर कम्पनीहरुले नाफा कमाए सेयर लगानीकर्तालाई बोनस दिने हो । तर, यी संस्थाहरु पनि टाट पल्टिसकेका छन् । बैंकले एक लाख आनामा नबिक्ने जग्गा धितो राखेर करोडौं कर्जा दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाले ५० करोडमा नबिक्ने जग्गा धितो राखेर बैंकबाट डेढ खर्ब ऋण लिएको सुनिन्छ ।

त्यो धितो पनि सरकारी, गुठी, ऐलानी जग्गा भएको बताइन्छ । चौधरी ग्रुप, विशाल गु्रपहरुले पनि यसरी नै बैंकबाट ऋण लिएको सुनिन्छ । उद्योग वाणिज्य महासंघका वर्तमान अध्यष चन्द्रप्रसाद ढकालले ताप्जेलुङको पाथीभरा मन्दिर आसपास सात लाखमा किनेको जग्गा धितो राखेर बैंकबाट २८ करोड ऋण लिएको चर्चा छ । यतिमात्र होइन उनले विभिन्न बैंकबाट अर्बौ ऋण लिएका छन् ।

तर, जेनजी आन्दोलनका क्रममा उनको केबलकारमा पनि आगजनी भएको छ । भाटभटेनी साहु मीनबहादुर गुरुङले देशभर रहेका आफ्ना ३१ व्टा भाटभटेनी धितो राखेर ५३ अर्ब ऋण लिएकोमा जेनजी आन्दोलनका क्रममा दुई दर्जन बढी भाटभटेनी ध्वस्त भएको छ । गुरुङले धेरैजसो भाटभटेनी सरकारी, गुठी, ऐलानी जग्गामा बनेको पाइन्छ ।

सरकारले देशभर २०२१, ०२८ र ३२ सालमा जग्गा नापी गरेर जनताको जग्गाको लालपूर्जा जनतालाई नै दिएको थियो । त्यसरी लालपूर्जा दिएर बचेको जग्गालाई ऐलानी, हदबन्दी बढी, सरकारी, गुठीलगायत जग्गामा राखी सरकारी स्वामित्वमा ल्याइयो । तर, जग्गा, भूमाफिया, व्यापारीहरुले त्यस्तो जग्गा कब्जा गरेका छन् ।

जसको ज्वलन्त उदाहरण भाटभटेनी साहु गुरुङ हुन् । काठमाडौं र भक्तपुरमा ०२१ र ०२८ सालमा जग्गा नापी हुँदा अनामनगर र राधेराधेस्थित भाटभटेनी रहेको जग्गालाई ऐलानी, सरकारी भनि लेखिएको स्थानीय बताउँछन् । गुरुङले सोही जग्गा कब्जा गरेर भाटभटेनी ठड्याएका छन् । त्यसो त भाटभटेनीले राज्यलाई साढे चार अर्ब राजस्व पनि छलेको छ ।

सो रकम तिर्न सर्वोच्च अदालतले गुरुङलाई आदेश दिएतापनि उनले हालसम्म तिरेका छन् । यतिमात्र होइन, बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पनि अदालतले गुरुङलाई दोषी ठहर गर्दै दुई वर्ष कैद र ८० लाख रुपैयाँ जरिवानाको फैसला सुनाइसकेको छ । पूर्वमन्त्री दीपक खड्काले नेपाल छोडिसकेका छन् ।

जेनजी आन्दोलनका क्रममा उनको आलिशान घरमा पनि आगजनी भयो । त्यतिबेला उनको घरमा पैसैपैसा भेटिएको थियो । ज्यान जोगाउन उनी अमेरिका नै भागे । खड्काले विभिन्न बैंकबाट १४ अर्ब ऋण लिएको बुझिन्छ । उनी भागेसँगै अब ऋण दिने बैंक टाट पल्टिने पक्का छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि विभिन्न ठाउँको घरजग्गा धितो राखेर बैंकबाट ११ अर्ब ऋण लिएका छन् ।

उनले वर्षौदेखि बैंकको साँवाब्याज तिरेका छैनन् भने उनको धितो बेच्दा आधा रकमसमेत बैंकलाई उठाउन हम्मेहम्मे पर्ने अवस्था छ । एमाले नेता महेश बस्नेतले पनि विभिन्न बैंकबाट सात अर्ब कर्जा लिएका छन् । जेनजी आन्दोलनका क्रममा उनको पनि घर जल्यो । यी त उदाहरण मात्रै हुन् । बैंकको ऋण खाएर तिर्न नसकेकै कारण एक लाख २५ हजार बढी कालोसूचीमा परेका छन् ।

बैंकको लगानी विशेष गरी चार वटा क्षेत्रमा छ । घरजग्गा, गाडी, सेयर र सुन । यी सबैको मूल्य कृत्रिम रुपमा बढाइएको हो । दश हजार रोपनीमा नबिक्ने खेतको पाटो दलालीहरुले टुक्राटुक्रा बनाएर आनाकै २५ लाखदेखि करोडौंमा बेचे । एक रोपनीमा १६ आना हुन्छ । छिमेकी मुलुक भारत र चीनमा एकदेखि दश लाखमा पाइने सवारी साधन यहाँ २० लाखदेखि करोडौंमा बेचिएको छ ।

सुन वि.सं. २०२२ सालसम्म ८० रुपैयाँ प्रतितोला थियो । अहिले दलालीहरुले मूल्य बढाएर दुई लाख ५८ हजार रुपैयाँ पुर्याए । एक तोला सुन किन्दा (ज्यालासहित) उपभोक्ताले तीन लाख रुपैयाँ तिर्नुपर्छ । उपत्यकाभित्र तथा बाहिर एउटै व्यक्तिले पाँचदेखि ६६ वटासम्म घर बनाएर भाडामा लगाएका छन् । त्यो पनि पाँचदेखि १९ तले । एउटा कोठाको ठाउँअनुसार पाँच हजारदेखि २५ हजार असुलिन्छ ।

एक फ्ल्याटको ३५ हजारदेखि तीन लाख, एउटा सटरको ३० हजारदेखि १९ लाख र खाली सटर २० लाखदेखि ६० लाखमा किनबेच गर्ने गरिन्छ । घरधनीहरु बत्ती, पानी, फोहोर इन्टरनेट, सवारी साधन पार्किङ्गको मनलाग्दी शुल्क उठाउँछन् । अहिले भाडा तिर्न नसकेर देशभर ६० प्रतिशत बढी कोठा, फ्ल्याट, सटर खाली भइसकेका छन् ।

यस्तै, पाँच वर्षदेखि ५० लाखदेखि करोडौंमा किनिएको गाडी अहिले दश लाखमा बिक्दैन । करोडौंमा किनिएको घरजग्गा पनि आजकल लाखमा बिक्री हुन्न । यातायात र मालपोत सुनसान छ । बजारमा घरजग्गा, गाडी, सेयर र सुन बेच्ने छ्यापछ्याप्ती छन् भने किन्ने कोही छैनन् । मानिससँग रोजगारी छैन, पैसा छैन ।

बिहानबेलुकाको छाक टार्न धौधौ परेको छ । अनि यस्तो अवस्थामा कसले घरजग्गा, गाडी, सेयर, सुन किन्छ । जतिसुकै मूल्य बढेपनि विलासित वस्तु विलासित नै हुन् । त्यसमाथि कृत्रिम मूल्य कहिल्यै लामो समय टिक्दैन । त्यसकारण यी क्षेत्रमा व्यक्तिदेखि बैंकसम्मले गरेको लगानी डुबिसकेको छ । फेरि सरकारले पनि यसैलाई राज्यको स्रोत बनाउँदा आज अर्थतन्त्रमा समेत संकट आएको छ ।

विदेशी ऋण २९ खर्ब ४२ अर्ब पुगेको छ । निर्माण व्यवसायीको ४५ अर्ब, दुध तथा उखु किसानको सात अर्ब र कोरोना बीमा गराएका अस्पतालको २४ अर्ब भुक्तानी दिन बाँकी छ । अनि राजस्व उठ्ने स्रोत नै ठप्प भएपछि अब कसरी यी ऋण तिर्ने ? सरकार, जनता, संघसंस्था सबै दलालीहरुको लहैलहैमा लाग्दा यो अवस्था आएको हो । त्यसैले, कागले कान लग्यो भनेर त्यसको पछि दौडिनुको साटो पहिले आफ्नो कान समाउने हो ।