मकवानपुरका ३४ उम्मेदवारको धरौटी जफत
काठमाडौं । मकवानपुरका ३४ जना उम्मेदवारले सदर मतको १० प्रतिशत पनि मत पाउन नसक्दा धरौटी जफत भएको छ। २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा १ नम्बर क्षेत्रका १८ जना र २ नम्बर क्षेत्रका १६ जना उम्मेदवारको जमानत जफत भएको हो।
धरौटी जफत हुनेमा १ नम्बर क्षेत्रबाट अघिल्लो निर्वाचन जितेका राप्रपाका दीपकबहादुर सिंह पनि छन्। उनले सदर मतको १० प्रतिशत कटाउन सकेनन् अर्थात ४५७४ मत मात्रै पाए । उनले अघिल्लो निर्वाचनमा २७ हजारभन्दा बढी मत पाएका थिए।
१ नम्बर क्षेत्रमा १३ राजनीतिक दल र १० स्वतन्त्र गरी २३ जना उम्मेदवारले निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। विजयी उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी ९राास्वपा०का प्रकाश गौतमसहित पाँचजनाले मात्रै आफ्नो धरौटी जोगाएका छन्।
नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डीना, नेकपा एमालेका रामेश्वर राना, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का विजय गौतम र उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले धरौटी जोगाउन सके।
१ नम्बर क्षेत्रका ११ जना उम्मेदवारले ५० मतसमेत कटाउन सकेनन् । मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा कुल ९५ हजार ३ सय १० मत खसेको थियो । त्यसमध्ये ९० हजार ७ सय २५ मत सदर भएको थियो।
२ नम्बर क्षेत्रमा कुल ९१ हजार २ सय ४१ मत खसेकोमा ८५ हजार ६ सय १९ मत सदर भएको थियो । यसक्षेत्रमा १६ राजनीतिक दल र ५ स्वतन्त्र गरी २१ जना प्रतिस्पर्धामा थिए। रास्वपाका प्रशान्त उप्रेती (विजयी), नेकपा एमालेका महेश बर्तौला, नेपाली कांग्रेसका बुद्ध लामा, नेकपाका लवशेर विष्ट र उज्यालो नेपाल पार्टीका प्रवीणकुमार स्याङ्तानले धरौटी जोगाएका छन्।
कुल सदरमतको १० प्रतिशत मत प्राप्तगर्न नसक्ने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था रहेको छ। धरौटी जफत हुँदा उम्मेदवारी दर्ता गर्दा बुझाएको १० हजार रुपैयाँ राज्यकोषमा जाने व्यवस्था छ।
