फोटो खिच्न लाग्दा बन्दुक पड्कियो, एक जनाको मृत्यु
डडेल्धुरा । डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा एक किशोरको मृत्यु भएको छ।जिल्लाको परशुराम नगरपालिका-२ बसौटीमा मंगलबार साँझ घरभित्र राखिएको अवैध भरुवा बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किंदा १७ वर्षीय सुवास महरा गम्भीर घाइते भएका थिए।
बैतडीको शिवनाथ गाउँपालिका-४ घर भएका महरा आफ्नी दिदी जानकी बोहराको घरमा बस्दै आएका थिए । बन्दुक पड्किएपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको थियो । तर, चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनापछि इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको टोलीले परशुराम नगरपालिका–२ बसौटीका गणेशबहादुर बोहरा र बैतडी शिवनाथ गाउँपालिका–४ का अर्का १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनास्थलबाट भरुवा बन्दुकसमेत बरामद गरेको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
