लुटिएका हतियार फिर्ता लिन र भागेका कैदी पक्रन देशभरका सिडिओलाई गृहको निर्देशन

काठमाडौं। जेन-जी पुस्ताको प्रदर्शनपछि मुलुकमा विकसित नयाँ सुरक्षा चुनौतीहरूको समीक्षा गर्दै गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई विशेष निर्देशन जारी गरेको छ।

मन्त्रालयले जेन-जी आन्दोलनका क्रममा सुरक्षा निकायबाट लुटिएका वा हराएका हातहतियार फिर्ता ल्याउन र फरार भएका कैदीबन्दीहरूलाई पक्राउ गर्न विशेष सुरक्षा अपरेसन चलाउन निर्देशन दिएको हो।

साथै, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी थाल्न समेत सूचित गरेको छ। साथै, अवैध हातहतियार नियन्त्रणका लागि आवश्यक कारबाही गर्न निर्देशन दिइएको छ।

आन्दोलनका क्रममा फरार भएका कैदीबन्दीहरूलाई फिर्ता ल्याउन गठित ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ लाई थप प्रभावकारी बनाउन पनि निर्देशनमा उल्लेख छ।

नयाँ सरकार गठन भई निर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको सन्दर्भमा, अबदेखि हुने सभा, सम्मेलन, बैठक तथा विरोधका कार्यक्रमहरू सञ्चालन गर्दा शान्तिपूर्ण र अहिंसात्मक बनाउन पूर्वस्वीकृति अनिवार्य गरिएको छ।

कार्यक्रमले अन्य पक्षलाई उत्तेजित पार्ने वा उक्साउने किसिमको हुन नहुने कुरामा समेत मन्त्रालयले सचेत गराएको छ।

आन्दोलनका क्रममा विस्थापित भएका सुरक्षा निकायका कार्यालयहरूलाई स्थानीय समुदायसँगको समन्वयमा पुनर्स्थापित गर्न पनि निर्देशन दिइएको छ।

निर्देशनमा आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न गर्न जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन र सुरक्षा निकायहरूसँग समन्वय गरी गस्ती बढाउन भनिएको छ।

निर्वाचनका लागि आवश्यक पर्ने सुरक्षाकर्मी, हातहतियार, सञ्चार उपकरण र सवारीसाधनको लेखाजोखा गर्न तथा मतदानस्थलहरूको परिवर्तित परिस्थितिका आधारमा संवेदनशीलताको विश्लेषण गरी पुनः वर्गीकरण गर्न पनि निर्देशन दिइएको छ।

जेन-जी प्रदर्शनका क्रममा क्षति भएका सार्वजनिक तथा भौतिक संरचनाहरूको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको पुनर्निर्माण कोषमा सहयोग रकम जम्मा गर्न इच्छुक सबैलाई आह्वान गरिएको छ।

यसका साथै, मन्त्रालयले अपराध नियन्त्रण, सीमा सुरक्षा, सुशासन, प्रभावकारी सेवा प्रवाह,आपूर्ति व्यवस्थापन,कारागार प्रशासन र विपद् व्यवस्थापनलगायतका विषयमा पनि विस्तृत निर्देशनहरू जारी गरेको छ।