फुटपाथ पैदलयात्री हिँड्न बनाएको होकि रंगोली बनाउन,पार्किङ र व्यापार गर्न ?
अनुसा थापा
एक वर्षमा १२ महिना हुन्छ भने ३६५ दिन । त्यसमध्ये ३६४ दिनको फोहोर ढोकाबाहिर ल्याएर फ्याँकिन्छ । ढोकाअगाडि पनि कहिल्यै सफा गरिएन । ढोकाअगाडि बढार्नका लागि नगरपालिकाबाट कर्मचारी आउनुपर्थ्यो । फोहोर दुग्ङदुग्ङ गन्हाएपनि सफा गरिँदैनथ्यो । आफ्नो घरअगाडि फोहोर थुपिदाँ, धुलैधुलो र हिलैहिलो हुँदापनि सफा गरिँदैन ।
तर, हिजो दृश्य फरक थियो । सबैले धुइँका धुइँ आफ्नो आँगन सफा गरिरहेका थिए । कारण थियो–लक्ष्मी पूजा । रंगोली बनाउनका लागि सरसफाइ गरिएको हो । उपत्यकाका अधिकांश घर एकदेखि तीन आनामा बनेको छ । घरधनीले एक इञ्च पनि खाली जग्गा छोडेका छैनन् ।
उनीहरुले सडक अवरोध गरेर रंगोली बनाइरहेका थिए । जसका कारण पैदलयात्रीहरु ज्यान जोखिममा राखेर सडकबाट हिँड्न बाध्य भएका थिए । हिजो दिँउसैदेखि फुटपाथ बढार्ने र पानी हालेर पखाल्ने काम भइरहेको थियो । उनीहरुले कारणले पैदलयात्रीले दुःख पाइरहेका थिए ।
फुटपाथ पखालेको पानीले पैदलयात्री भिजेका थिए । फुटपाथबाट हिँड्दाखेरि घरधनीहरु पैदलयात्रीलाई थर्काइरहेका थिए । उनीहरु भन्थें,‘आँखा छैन कि क्या हो । पूजा गर्नलाई भर्खरै सफा गरेको, तलबाट हिँड्न सक्दैन ।’ फुटपाथ पूजा गर्ने ठाउँ होइन । सरकारले फुटपाथ पैदलयात्री हिँड्नका लागि बनाएको हो ।
तर, घरधनीहरुले कहिले फोहोर ल्याएर फुटपाथमा थुपार्छन् त कहिले पूजा गर्छन् । पैदलयात्रीलाई त्यसले साह्रो समस्या भइरहेको छ । घर बनाउँदा जग्गा छोड्न लोभ लाग्ने, सबै ओगटेर बनाउने अनि फुटपाथ फोहोर पार्ने, पैदलयात्रीलाई दुःख दिने काम भइरहेको छ । घरधनीहरुले घरभित्र पूजा गर्छन्, चढाउने नाममा सडक फोहोर पार्छन् ।
उपत्यकाभित्रका घरधनीहरु सुकिलामुकिला छन् । हामी जति शिक्षित र बुझेको कोही छैन भनेर घमण्ड गर्छन् । कूल एकदेखि चार आना जग्गा भएकाले आफू जति धनी कोही छैन भन्ठान्छन् । अनि बाटोको जग्गा मिचेर घर बनाउँछन् । यस्ता मान्छे पनि शिक्षित ? यो भन्दा हास्यापद कुरा के होला ?
एउटा पूजा गर्ने ठाउँसमेत नभएकाहरु पूजिपूती ? उनीहरु शिक्षित होइनन्, लुटाहाहरु हुन् । जसले राज्यको सम्पत्ति लुटिरहेको छ । उनीहरुले कानुनको धज्जी उडाइरहेका छन् । हिजो अर्को एउटा रोचक दृश्य पनि देखियो । अरु बेला कुकुरलाई हिर्काउने, तातो पानी खन्याइदिने, लखेट्नेहरु हिजो कुकुरलाई माला लगाइदिएर फोटो खिचिरहेका थिए ।
ह्ुन त काठमाडौं मानवता नभएकाहरुको बसोबास भएको जिल्ला हो । यहाँ ठग्ने, अरुले ल्याएको परिवर्तनको फाइदा उठाउने, अरुलाई दुःख दिने जमातको बसोबास छ । पटकपटक भएको राजनीतिक परिवर्तनमा बाहिरी जिल्लाका जनताको योगदान छ । अन्य जिल्लाका जनता शहिद भएकोमा विकासचाँहि सरकारले काठमाडौंमा गरेको छ ।
यहाँका जनता फोहोर गर्छन् । उनीहरुले गरेको फोहोरको दुर्गन्ध नुवाकोटस्थित बञ्चरेडाँडाका स्थानीयले भोगिरहेका छन् । फोहोरको कारण त्यहाँको खेतीयोग्य जमिन मरुभूमि बन्दै गएको छ । काठमाडौंका बासिन्दालाई पानी पनि बाहिरी जिल्लाकै जनताले उपलब्ध गराइरहेका छन् ।
सिन्धुपाल्चोकको खेतीयोग्य जमिन बाँझो राखेर मेलम्चीको पानी यहाँ पठाइरहेको छ । काठमाडौंमा खोलानाला नभएको होइन, थुप्रै छ । तर, सुकिलामुकिला र शिक्षित जमातले ती खोलानाला दुर्गन्धित बनाएका छन् । खोलानाला मिचेर घर बनाइएको छ । अनि कहाँबाट आउँछ पानी ?
जहाँ पानीको समेत अन्य जिल्लाका जनताले आफ्नो खेत बाँझो राखेर पठाइदिनुपर्छ, त्यहाँका जनताले घमण्ड नगर्दापनि हुन्छ ।
काठमाडौंबासीले दुईटा कुरा जानेका छन्–ठग्न र सुतिसुति खान । पाँच हजार नजाने कोठालाई २५ हजारमा लगाएका छन् । सटर लाखौंमा बेचेका छन् ।
एकातिर भाडामा बस्नेलाई ठग्ने, अर्कोतिर राज्यलाई कर नतिर्ने । अर्कालाई दलाएर खानबाहेक उनीहरुले केही जानेका छैनन् । जसले ठगेर कमाएको छ, उसले घमण्ड गर्नुको कुनै औचित्य छैन । अर्काले तपाईँ भनोस् कि नभनोस् यहाँका मान्छे आफैं ‘मपाई’ भन्छन् । देशमा लोकतन्त्र गणतन्त्र आएको डेढ दशक भयो ।
तर, अहिले यी तीन जिल्लाबाट प्रधानमन्त्री भएका छैनन् । कारण हो–व्यक्तिगत स्वार्थमा रमाउनु र सार्वजनिक काम नगर्नु । उपत्यकाका घरधनीलाई धनी बनाइदिने बाहिरी जिल्लाका मान्छे हुन् । उनीहरुले खाईनखाई घर भाडा तिरीदिएका छन्, त्यसैले घरधनीले खान पाएका छन्।
नत्र यिनका व्यापार–व्यवसाय, जागिर के छ ? आम्दानीको एउटै माध्यम घरभाडा न हो । अनि उनीहरु त्यहीँ डेरावाललाई हेप्छन् । बाहिरी जिल्लाका नागरिकलाई सुकुम्बासी ठान्छन् । काठमाडौं उपत्यकामा बनेका घरहरु प्रायः एकअर्कासँग टाँसिएका छन् । खाली जग्गा छोडिएकै छैन ।
केही कारणबस् भूकम्प आयो भने भागेर जाने ठाउँसम्म छैन । घरहरु मात्र नामको मात्र छ । न भित्र ढंगको कोठा छ न खाली ठाउँ । पूजा गर्नसमेत फुटपाथमा आउनुपर्छ । जग्गाचाँहि छैन तर घरचाँहि अग्लो बनाइएको छ । झिलीमिली हाल्ने क्रममा हालै एक जनाको छतबाट खसेर मृत्यु भएको छ ।
अर्कोतर्फ यसले सवारी दुर्घटनाको जोखिम पनि बढाएको छ । सवारी चालकको आँखा बत्तीतिर गएमा त्यसले सवारी दुर्घटना हुन्छ, कसैको ज्यान जान सक्छ । तर, स्थानीय पालिकाले यस्ता विषयमा ध्यान दिएको पाइएन । झिलीमिली कहाँ र कस्ता घरमा हाल्ने ? स्थानीय पालिका केही बोलेको छैन ।
कानुन भन्छ,‘फुटपाथ अवरोध गर्न पाइँदैन ।’ फुटपाथमा पूजा गर्न, पसल राख्न र सवारी साधन पार्किङ गर्न पाइँदैन । तर, घरधनीहरुले कानुनको अवज्ञा गरे । उनीहरुलाई कारबाही गर्ने कि नगर्ने ? पैदलयात्री सडकबाट हिँड्दा दुर्घटना भएको भए कसले जिम्मा लिन्थ्यो ? घरधनीले लिनुपर्थ्यो ।
किनकि, त्यसमा सवारी चालकको भन्दा पनि घरधनीहरु बढी कसुरवार हुन्थें । उनीहरुको कारणले फुटपाथबाट हिँड्नेहरु सडकबाट हिँड्न बाध्य भएका थिए । गृहमन्त्री ओमप्रकाश अर्याल फुटपाथ अवरोध गर्नेलाई कारबाही गर्न निर्देशन दिँदैनन् । उपत्यकाका स्थानीय पालिकाहरु फुटपाथ कब्जा हुँदा आँखा चिम्लेर बस्छन् ।
जसले पैदलयात्रीलाई समस्या भएको छ भने फुटपाथ कब्जा गर्नेहरुको मनोबल बढेको छ । सुशीला कार्की नेतृत्वको सरकार बनेको एक महिना बितिसकेको छ । तर, यस सरकारको पनि खासै सम्झनलायक काम छैन । कार्की सरकारलाई काम भन्दापनि मिडियाबाजी गर्दैमा ठिक्क छ ।
यहाँ सरकार पनि त्यस्तै, जनता पनि त्यस्तै । सरकार ऐनकानुन कार्यान्वयन गर्न नसक्ने, जनता ऐनकानुन मान्दै नमान्ने । फुटपाथबाट हिँड्न पाउने अधिकार जनतालाई छ । यदि कसैले फुटपाथ अवरोध गर्छ भने नियामक निकायमा उजुरी गरौं । आफ्नो अधिकार मिच्नेलाई कानुनको दायरामा ल्याउनुपर्छ भन्ने सोचौं ।
नत्र सँधै फुटपाथ व्यवसायी र घरधनीहरुको दादागिरी सहनुपर्छ । फुटपाथबाट हिँड्न पाउनु पैदलयात्रीको अधिकार हो । फुटपाथमा हिँड्दा गाली गर्ने घरधनी को हुन् ? काठमाडौंका घरधनीहरु आफू कोको न भन्थें । हिजोबाट उनीहरु कति धनी रहेछन् ? प्रष्ट भइसकेको छ ।
