जुनसुकै सरकार आएपनि सहकारी ठगहरुलाई उन्मुक्ति
रुषा थापा
सर्वसाधारण जनताले खेतबारी, घर, पुख्र्यौली सम्पत्ति बेचेर, जीवनभर कमाएको वा विदेशमा रगत पसिना बगाएर कमाएको पैसा ६–७ वर्षअघि आँखा चिम्लेर सहकारीमा राखे । एकै जनाले एक लाखदेखि १२ करोडसम्म पैसा सहकारीमा राखेका थिए । सहकारीले १४ देखि २२ प्रतिशतसम्म डिपोजिटको ब्याज दिन्छु भनि बचतकर्तालाई लोभ्याएको थियो ।
बैंक, वित्तिय संस्थाले पनि ११ देखि १६ प्रतिशतसम्म ब्याजको प्रलोभन देखाए । सहकारीको नौंटकी धेरै नै हुन्थ्यो । वर्षमा एक चोटि बचतकर्ताहरुलाई पिकनिक लैजान्थ्यो भने बर्थ डेमा विभिन्न गिफ्ट । बुढाबुढीलाई दोसल्ला ओढाएर सम्मान गरिन्थ्यो । पैसा तान्न सहकारीले अनेकौ प्रपञ्च गर्ने गथ्र्यो । सहकारी कर्मचारी, अध्यक्ष, सञ्चालकहरु चाँहि कोट, पेन्ट लगाउँथे ।
कोही दुई पाङ्ग्रे त कोही चार पाङ्ग्रे गाडी चढ्थे । हरेकले दुईटा मोबाइल फोन बोक्ने । त्यो पनि स्मार्टफोन वा आईफोन । घाँटीमा सुनको मोटो सिक्री, हातमा सुनकै बाला । अनि सञ्चालक, अध्यक्ष, कर्मचारीहरु धनी देखेपछि आफ्नो रकम नडुब्ने आशामा मानिसहरुले सहकारीमा पैसा राखे । सहकारी बजार प्रतिनिधिहरु बिहान १० बजेदेखि ५ बजेसम्म खट्थे ।
उनीहरुको तलब पद वा अनुभवअनुसार दश हजारदेखि ५० हजारसम्म हुन्थ्यो । सहकारी अध्यक्ष, सञ्चालकहरु चाँहि दिउँसो १ बजे कार्यालय आउँथे अनि केही घण्टा काम गरेर घर जान्थे । उनीहरुको तलब चाँहि लाखौं हुन्थ्यो । सहकारी होस् या बैंक, अन्य वित्तिय संस्थाको कार्यालयमा बचतकर्ता, ऋणी जाँदा जाडोमा गर्मी र गर्मीमा जाडो हुन्थ्यो ।
किनकि त्यहाँ महँगो एसी राखिएको हुन्थ्यो । अनि बचतकर्ता र ऋणीलाई लोभ्याउन चिसो र तातो खुवाउने । उनीहरुसँग मिठो बोली बचन गरिन्थ्यो । हाँसी हाँसी फसाइन्थ्यो । बैंक, सहकारी वा अन्य वित्तिय संस्थाले दुई करोडको धितो राखेर एक करोड कर्जा दिन्थे । त्यसमा दश लाख त घुसै ।
सेवाशुल्क दुई प्रतिशत । ब्याज १६ देखि १८ प्रतिशत भनेर ८० प्रतिशतसम्म असुल्ने । अनि तीन किस्ता नतिर्नेबित्तिकै दुई करोडको धितो ९० लाखमै पचाइदिने । यो कुरा केबल बैंक, सहकारी, वित्तिय संस्थाबाट पीडित भएकाहरुलाई थाहा थियो । यिनीहरुको बाहिर रुप एउटा र भित्री अर्कै भएको धेरै सर्वसाधारणलाई थाहा थिएन ।
जसका कारण ऋणीसँगै बचतकर्ता पनि डुब्नुपर्यो । बैंक, सहकारी, वित्तिय संस्थाहरुको विशेषतः कर्जा लगानी घरजग्गा, गाडी, सेयरमा पाइन्छ। यी वस्तु विलासित हुन् । दलालीहरुले कृत्रिम रुपमा यसको मूल्य बढाएका हुन् । यद्यपि, अरुलाई ठग्ने बैंक, वित्तिय संस्थाहरुले आफू खाल्टोमा परेको कुरा चाँहि बुझेनन् । त्यसैको परिमाणमा पहिलो चरणमा सहकारी डुबेको हो । मै हुँ भन्ने सहकारीहरु घरजग्गा, गाडी र सेयरमा लगानी गरेकै कारण एकाएक भाग्नुपर्यो । डुब्नुपर्यो ।
हिजो कोट, पेन्ट लगाएर चिल्लो गाडीमा चढ्ने सहकारी सञ्चालक, अध्यक्ष, कर्मचारीहरु आज मास्क लगाएर लुकीलुकी हिँडिरहेका छन् । कतिपय त देशै छोडेर भागिसके । अब पालो बैंकको हो । जग्गा पाँच दशकअघि दश हजार रोपनीमा बिक्री हुदैन्थ्यो । एक रोपनीमा १६ आना हुन्छ । दलालीहरुले खेतको पाटोमा डोजर चलाएर टुक्राटुक्रा पारे ।
अनि त्यँही टुक्रालाई आना नाम दिएर आनाकै २५ लाखदेखि करोडौंमा बेचे । गाडी सिसा, फलाम, प्लास्टिक, रबरलगायतबाट बन्छ । यी वस्तुको कबाडीले दुई रुपैयाँ किलो दिन्छ । छिमेक भारत र चीनले कबाडीले दुई रुपैयाँ किलोमा नलैजाने सामानबाट गाडी बनाए । अनि हामीलाई लाखौंमा बेचे । त्यही गाडी फेरि अटो शोरुमहरुले सर्वसाधारणलाई सयौं गुणा बढी मूल्इ अर्थात् एक लाखको गाडी २० देखि ५० लाखसम्ममा बेचे ।
यस्तै, सेयर बैंक, वित्तिय संस्था, जलविद्युत कम्पनीहरुले एक सय रुपैयाँ प्रतिकित्तामा निष्काशन गरेका हुन् । सेयरमा पनि सीमित व्यक्तिहरुको चलखेल छ । उनीहरुले मूल्य बढाउने र घटाउने गर्छन् । अनि फस्छन् चाँहि सोझासाझा जनता । ३२ सय पुर्याइएको सेयर अहिले २४ सयमा झरिसक्यो । अब एक हजारमा झार्ने बजारमा चर्चा छ ।
अहिले बल्ल आएर मानिसहरुले बुझेका छन् कि घरजग्गा, गाडी र सेयर विलासित वस्तु हुन् । यसमा लगानी गर्नुहुन्न । तर, डुबेपछि थाहा पाएर के गर्नु । घरजग्गा, गाडी र सेयरमा मन्दी आउनासाथ सहकारी भाग्यो । दलालीहरुको पनि भागाभाग चलेको छ । बैंकसमेत संकटमा परेको अवस्था छ ।
यस्तै, देशभर दर्ता भएकामध्ये ९५ प्रतिशत सहकारी भागे वा डुबे । सञ्चालनमा रहेकाले समेत बचतकर्ताको निक्षेप फिर्ता गर्न सकेका छैनन् । बचतकर्ताहरु दशैं, तिहारमा निक्षेप फिर्ता माग्दै सहकारी पुगे । तर, रित्तो हात फर्किए । उल्टै सहकारी अध्यक्ष, सञ्चालकहरुले बचतकर्तालाई ठग्न खोजे । निक्षेपको साटो घरजग्गा, गाडी र सेयर लैजानु भने ।
तर, मूल्य सुन्दा आश्चार्य चकित । एक लाख आना नपर्ने दुर्गम जिल्लाको जग्गालाई २५ लाखदेखि ५० लाख भन्ने । थोत्रा चार पाङ्ग्रे गाडीको ५० लाख अनि सेयर प्रतिकित्ता तीन हजार भन्ने । फेरि यो नलिएर सिधैं बचत फिर्ता गर्न सक्दैनौं भन्ने । हिजो पैसा चाँहि हाँसी हाँसी लैजाने, जहिल्यै माग्नुहुन्छ, उत्तिबेलै दिन्छौं भन्ने । अनि अहिले चाँहि यस्तो गर्न पाइन्छ । अझै पनि सहकारीहरलाई सर्वसाधारण ठगेर नपुगेको यसबाटै थाहा हुन्छ। हुन त सहकारीलाई जनता ठग्न सरकारले नै लाइसेन्स दिएको हो ।
टोलटोलमा सहकारी, घरघरमा धान भकारी भन्दै सहकारीमा पैसा राख्न लगाइयो । अहिले डुबेपछि चाँहि सरकारले पनि बचतकर्तासँग मुख फेरेको छ । न निक्षेप फिर्ता दिलाउन पहल गर्छ न ठग सहकारी अध्यक्ष, सञ्चालकलाई कारबाही गर्छ । यतिसम्म कि पीडित बचतकर्ताले सहकारीविरुद्ध उजुरीसमेत दिन पाएका छैनन् ।
कानूनअनुसार सहकारीको दश प्रतिशत सदस्यले उजुरी दिएमा मात्र सम्बन्धित निकायले उजुरी लिन्छ । अनि बचतकर्ताहरुले एकअर्कालाई चिन्दैनन् । अनि कसरी एकसाथ उजुरी दिने । प्रमाण पेश गरेपछि त उजुरी दिन पाउनुपर्ने हो नि । यहाँ त सरकारले नै बचतकर्तालाई पीडा दिने काम गरिरहेको छ ।
सरकार भन्छ–कसैले ठगेमा उजुरी दिनु । कानून चाँहि ठगहरुको हितमा बनाउने अनि पीडितले कसरी उजुरी दिने ? आखिर जुनसुकै सरकार आएतापनि न बचतकर्ताको पैसा फिर्ता आउने देखिन्छ न सहकारी ठगहरुमाथि कारबाही ।
