विधि-प्रक्रिया नपुगेको भन्दै रास्वपा कैलाली जिल्ला अधिवेशनको परिणाम बदर
काठमाडौं । रास्वपा कैलालीको जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर गरिएको छ । रास्वपा केन्द्रीय निर्वाचन आयोगले आइतबार प्रक्रियागत त्रुटि भएको भन्दै जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर गरिएको जानकारी गराएको हो ।
अधिवेशनका क्रममा सम्पन्न निर्वाचन प्रक्रिया र त्यसको वैधतालाई लिएर जिल्लाका उम्मेदवारहरू तथा पार्टी सदस्यहरूद्वारा सप्रमाण दर्ता गराएको उजुरीहरू उपर केन्द्रीय निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
केन्द्रीय निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति भनिएको छ, ‘उक्त निर्वाचन पक्रियाप्रति कैलाली जिल्लाका माननीयज्यूहरूको असहमति र सल्लाहको बाबजुद अवैधानिक ढङ्गले विधान तथा कार्यविधि विपरीत निर्वाचन गराइएको पाइएको छ।
प्राप्त प्रारम्भिक उजुर तथा सँगै संलग्न प्रमाणहरूको आधारमा आयोगले अध्ययन गर्दा उक्त अधिवेशनमा लोकतान्त्रिक निर्वाचनका न्यूनतम विधि, प्रक्रिया र मापदण्डहरू पालना नभएको प्राथमिक रूपमै पुष्टि हुन आएको छ।
२५ जेठमा भएको अधिवेशनबाट सभापतिमा कविन्द्र ठकुल्ला विजयी भएका थिए । ठकुल्लाले ३३५ मत ल्याउँदा उनका प्रतिस्पर्धी महेशकुमार चौधरीले ३७ र हरि रेग्मीले २२ मत प्राप्त गरेका थिए।


