बालेन सरकारको आयु गन्ती शुरु‚यसको विकल्पमा हाम्रो नयाँ पार्टी: धवलशमशेर राणा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका डा.धवलशमशेर राणाले वर्तमान सरकारको आयुलाई लिएर प्रश्न उठिसकेको टिप्पणी गरेका छन्।

बालेन साह नेतृत्वको वर्तमान सरकारले धेरै गल्ती गरेकाले त्यसको आयुलाई लिएर देशभर प्रश्न उठिरहेको उनको जिकिर थियो।

आइतवार काठमाडौँमा आयोजित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै नेता राणाले सरकारले समय दिन नपुग्दै गल्ती गरेकाले सरकारको नयाँ विकल्पको रूपमा आफूहरूले नयाँ पार्टी खोल्न लागेको दावी गरे।

नयाँ पार्टीले राजासहितको प्रजातन्त्र बोक्ने र मुलुकलाई हिन्दु राष्ट्र कायम गराउने गरी वर्तमान सरकारको विकल्प दिने उनले बताए। नेता राणाले मलमास परेकाले नयाँ पार्टीको नाम, झण्डासहितको कार्यक्रम केही पछि मात्रै सार्वजनिक गर्ने निर्णय गरिएको बताए।

उनले भने, ‘बालेन सरकारप्रति सय दिन नपुग्दै तमाम प्रश्न उठिसके। यो सरकार असफल भयो भने जनताले विकल्प खोज्नेछन्। त्यो विकल्प एमाले, काँग्रेस, माओवादी र राप्रपा पनि होइन। त्यो विकल्प हाम्रो नयाँ बन्ने पार्टीले दिनेछ।

नेता राणाले नयाँ पार्टीले आगामी स्थानीय तहमा भाग लिने घोषणा पनि गरे।