कांग्रेसमा ६ लाख ८७ हजार ९३१ सदस्यले गराए क्रियाशील सदस्यता अद्यावधिक

काठमाडौं। नेपाली कांग्रेसका ६ लाख ८७ हजार ९३१ सदस्यले आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गरेका छन्। यसअघि काँग्रेसका कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये ६ लाख ८७ हजार ९३१ सदस्यले आफ्नो विवरण वडा तहबाट अद्यावधिक गरेको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। जस अनुसार ५ लाख ३८ हजार ६२२ सदस्यले एनसिआइडी प्राप्त गरिसकेका छन् भने १ लाख ४९ हजार ३०९ सदस्यको फाराम वडा तहबाट अनुमोदन प्रक्रियामा रहेको छ।

कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिले वडा तहबाट अनलाइनमा प्रविष्ट भएका फाराम आगामी असार ५ गतेभित्र अनुमोदन गरिसक्न निर्देशन दिइएको छ। तोकिएको समयभित्र अनुमोदन नभएमा योग्य सदस्यहरूको विवरण केन्द्रले स्वतः अनुमोदन गर्ने व्यवस्था गरिनेछ।

इन्टरनेट पहुँच कम भएका उच्च हिमाली तथा विकट पहाडी क्षेत्रका केही जिल्लासहित बारा र खोटाङमा भने सदस्यता अद्यावधिकको समयसीमा असार ७ गतेसम्म तोकिएको छ। त्यस्तै विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूका लागि यो समय असार १० गतेसम्म कायम गरिएको छ।

त्यस्तै नयाँ क्रियाशील सदस्यता वितरण तथा फाराम संकलन कार्य असार २० गतेसम्म सञ्चालन हुने समितिले जानकारी दिएको छ। त्यस्तै, शुल्क नबुझाएका सदस्यहरूको हकमा सम्बन्धित तहका सभापतिहरूलाई यथाशीघ्र शुल्क संकलन गर्न निर्देशन दिइएको छ । शुल्क नबुझाउने सदस्यहरू १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ।

त्यसैगरी छुट भएका सदस्यहरूले असार २० गतेभित्र आफ्नो प्रमाणसहित केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन् । आवश्यक विवरण प्रमाणसहित निवेदन पेश गर्न सकिने व्यवस्था गरिएको छ । वडाबाट छुट भएका सदस्यताका लागि सम्बन्धित वडाले पनि थप समय माग गर्न सक्ने व्यवस्था गरिएको छ, जसअनुसार अधिकतम ७ दिनसम्मको अतिरिक्त समय दिन सकिने समितिले जनाएको छ।

यस्तै, १५औँ महाधिवेशनलाई असर नपर्ने गरी सम्पूर्ण सदस्यता अद्यावधिक कार्यलाई समय मिलान गर्ने निर्णय गरिएको छ । त्यसैगरी ३५ वर्षमुनिका युवालाई लक्षित गर्दै युवा केन्द्रित अभियानमार्फत नयाँ सदस्यता वितरण गर्ने निर्णय पनि गरिएको छ। विषय विज्ञमार्फत प्रवेश पाउने तथा विभिन्न कारणले विदेशमा रहेका सदस्यहरूको विवरण अद्यावधिक गर्ने कार्य पनि असार २० गतेसम्म सञ्चालन हुने भएको छ।

त्यस्तै पुराना सदस्यता नम्बर रहेका सदस्यहरूको हकमा उनीहरूको पुरानो सदस्यतालाई निरन्तरता दिई अद्यावधिक कायम गरिने जनाइएको छ। त्यस्तै, पहिले संकलित तर प्रणालीमा प्रविष्ट नभएका नामहरू पनि असार ७ गतेभित्र अद्यावधिक गरिसक्नुपर्ने व्यवस्था गरिएको समितिले निर्णय गरेको छ।