कुनै पनि दलसँग एकता गर्ने विषयमा अन्तिम निर्णय भएको छैन: माओवादी
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले कुनै पनि राजनीतिक दलसँग एकता गर्ने विषयमा अन्तिम निर्णय नभएको प्रष्ट पारेको छ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लगायतका पार्टीहरूसँग एकताको चर्चा चलिरहेका बेला प्रचण्डको सचिवालयले यस्तो जनाएको हो।
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकको निर्णय र आवश्यकता अनुसार समाजवादी मोर्चामा आबद्ध दलहरू तथा अन्य वामपन्थी र प्रगतिशील समूहहरूसँग नेपाली समाजवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्न वैचारिक र साङ्गठनिक विषयमा गहन छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ।
नेपाली जनताको नेतृत्वमा विगतमा भएका क्रान्ति र सङ्घर्षहरूको रक्षा गर्दै बाँकी कार्यभार पूरा गर्न एकता अपरिहार्य रहेको माओवादी केन्द्रको ठहर छ।
यही विषयलाई ध्यानमा राखी विभिन्न पक्षसँग एकताका लागि सघन छलफल भइरहेको भए पनि कुनै निर्णय नभएको र सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा आएका प्रचारमा सत्यता नरहेको सचिवालयले स्पष्ट पारेको छ।
