माओवादी केन्द्र र नेकपा एसबीच एकतामा हतार नगरौं: नारायणकाजी

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकता गर्न हतार गर्न नहुने बताएका छन्। एकताबारे निर्णय लिन आजबाट नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्नुअघि नेता श्रेष्ठले सामाजिक सञ्जालमार्फत हतार नगर्न भनेका हुन्।

‘नेपाली कम्युनिस्ट आन्दोलनको वैचारिक सांस्कृतिक रूपान्तरण, एकीकरण र पुनर्गठन आजको आवश्यकता हो। र त्यस दिशामा सार्थक पहल समयको निर्देश हो, उनले भनेका छन्, ‘तर, एकीकरण प्रक्रियालाई समग्र कम्युनिस्ट आन्दोलनले माग गरे अनुसारको रूपान्तरण र पुनर्गठनसहितको एकीकरणको रूपमा अघि बढाउन सकिए मात्र त्यो औचित्यपूर्ण र सकारात्मक परिणामयुक्त हुनेछ।

माओवादी र नेकपा एकीकृत समाजवादीको पार्टी एकता प्रक्रियालाई पनि समग्र कम्युनिस्ट आन्दोलनको मागअनुसार नै हेर्नुपर्ने उनको तर्क छ।

श्रेष्ठले थपेका छन्,तर यो एकता प्रक्रियाले समग्र कम्युनिस्ट आन्दोलनको रूपान्तरण एवं पुनर्गठन अभियानको प्रस्थान विन्दुको भूमिका खेल्न सक्नु पर्छ र सम्बन्धित पार्टीहरू विभाजित भएर होइन समाष्टिरूपमा नै एकता प्रक्रियामा सामेल हुने सुनिश्चित हुनुपर्छ। त्यस निम्ति धैर्यतापूर्वक प्रयत्न गरौँ । हतार गरेर न समग्र एकता, न सार्थक पुनर्गठनको स्थिति नबनोस् भन्नेमा सचेत हुनुपर्छ।