बालुवाटार वार्तामा राजनीतिक दलबाट १६ र जेनजीबाट १४ प्रतिनिधि सहभागी हुने
काठमाडौं । प्रधानमन्त्री सुशीला काकीले आज राजनीतिक दल र जेनजी प्रतिनिधिसँग छलफल गर्दैछन्। जेनजी आनदोलनपछि बनेको अन्तरिम सरकारले पहिलोपटक जेनजी र राजनीतिक दलसँग त्रिपक्षीय छलफल गर्न लागेको हो।
निर्वाचनको माहोल बनाउने सन्दर्भमा पहिलोपटक हुन लागेको उक्त त्रिपक्षीय छलफल प्रधानमन्त्री निवास वालुवाटारमा अपराह्न ४ बजे हुँदैछ । जहाँ जेनजीबाट १४ जना र बिभिन्न राजनीतिक दलका १६ जना नेता सहभागी हुने भएका छन्।
त्यस्तै सरकारको तर्फबाट प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदिश खरेल उपस्थित हुनेछन्। आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको समग्र वातावरण निर्माण, राजनीतिक समझदारी जुटाउनेलगायतका विषय छलफलको कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो। आन्दोलनको क्रममा तत्कालीन प्रधानमन्त्री केपी ओली सरकार ढल्न पुग्यो। त्यसपछि प्रतिनिधिसभाबाटै अर्को सरकार बन्ने अवस्था नहुँदा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा २७ भदौमा अन्तरिम सरकार बनेको छ।
सरकारले यसअघि जेनजी र राजनीतिक दलका नेताहरूसँग छुट्टाछुट्टै रुपमा छलफल गर्दै आएको थियो। आज भने सरकार, जेनजी र राजनीतिक दलका प्रतिनिधि संयुक्त छलफलमा बस्न लागेका हुन्।
