जेनजी आन्दोलनको भावनाविपरीत एकता स्विकार्न सकेनौं: जनार्दन शर्मा

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले जेनजी आन्दोलनको माग र भावनाविपरीत माओवादी केन्द्र र एकीकृत समाजवादीबीच हुन लागेको एकता स्विकार्न नसकेको बताएका छन्।

उनले जेनजीको भ्रष्टाचारविरोधी माग सम्बोधन गर्नुको साटो भ्रष्टाचारको आरोप लागेका माधवकुमार नेपालसँग पार्टी एकता गरेकाले यस्तो एकता स्विकार्न नसकेको स्पष्ट पारेका हुन्।

मंगलवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले विगत केही वर्षदेखि माओवादी पार्टीलाई रूपान्तरण गर्ने,पारदर्शी बनाउने, सुशासनको पक्षमा र जनताप्रति जवाफदेही हुने,विधिपद्धति लागु गर्ने,पार्टीलाई समग्र रूपले पुनर्गठन गर्न आफू लागे पनि सफल हुन नसकेको बताए।

उनले नेतातन्त्र,भ्रष्टाचारविरोधी जगमा जेनजी विद्रोह भएकाले यसलाई स्वीकार गर्दै पार्टीलाई रूपान्तरण गर्ने कोसिस पार्टीभित्र असफल भएको उनको भनाइ छ।

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचारको मुद्दा लागेका एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसँग पार्टी एकताको नाटक गरेर पार्टीलाई अझ भद्रगोल, विधिहीन बनाएको आरोप लगाए।

सीमित एक वा दुई नेताहरूको हातमा सम्पूर्ण शक्ति केन्द्रित गर्ने गरी एकताको नाटक गरिएको उनको भनाइ छ।

उनले भने,पछिल्लो समयसम्म आइपुग्दा पार्टीभित्र दलतन्त्रको कुरा,नेतातन्त्रको कुरा,भ्रष्टाचारको कुरा उठाउँदै त्यसकै जगमा जेनजी विद्रोह भयो। जेनजी आन्दोलनले उठाएका भ्रष्टाचारविरोधी माग र भावना विपरीत भइरहेको एकताप्रति हामी सहमत हुन सकेनौँ।

उनले एकताका नाममा आमजनता, मतदाता र कार्यकर्तालाई भ्रमित पार्दै घृणा फैलाउने प्रयास भइरहेको बताए।