ओरालो लागेकाहरूको एकता उँभो लाग्दैन,एमाले वाम आन्दोलनको विकल्प होइन: घनश्याम

काठमाडौं। नेकपा माओवादी केन्द्रसहित विभिन्न नौ दलबीच हुन लागेको एकता अस्वीकार गरेका एकीृकत समाजवादीका महासचिव घनश्याम भुसालले कमजोरहरूको एकताले उँभो नलाग्ने टिप्पणी गरेका छन्।

माओवादी संयोजक प्रचण्ड र आफ्नो पार्टीका अध्यक्ष माधव नेपाल दुबै संकटमा परेपछि त्यसबाट मुक्त हुने सुत्रका रुपमा मात्रै एकता गर्न लागेकोले यसले निकास नदिने उनले बताए।

बुधबार पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता भुसालले यस्तो टिप्पणी गरेका हुन्। माओवादीभित्र के-के विवाद भयो, मंसिरमा महाधिवेशन गर्नुपर्ने भयो। त्यसलाई कसरी टार्ने भयो, यता हामी (माधव नेपाल) माथि मुद्दा लाग्यो के के भयो।

यसखालको संकटलाई थुपारेर त्यो संकटबाट मोचन गर्ने फर्मुला जुन तयार भएको छ, यो गलत छ,उनले भने,कमजोरहरूको, ओरालो लागेकाहरूको एकताले उकालो लागिन्छ भन्ने भाष्य बनाउन खोजिँदैछ। यसले निकास दिँदैन।

नेता भुसालले अहिलेको अवस्थामा एमाले पनि वाम आन्दोलनको विकल्प नभएको निष्कर्ष सुनाए। एमालेमा त उग्र फासिजमको डरलाग्दो प्रवृत्ति भएको टिप्पणी गरे।

‘निसन्देह आजको वाम आन्दोलनका लागि कसैको विकल्प एमाले पनि होइन। उग्र व्यक्तिवाद, उग्र निरंकुशता, क्रुरता, नीतिहिनता, सिद्धान्तहिनता छ। त्यस्तो चरित्र राखेर हामीले फासिजम भन्छौँ नि, त्यो डरलाग्दो प्रवृत्ति त्गाा छ।

त्यसले पार्टी फोड्छ, तोड्छ, प्रश्न उठाए निकाल्दिछ, राष्ट्र पनि त्यसैगरी चलाउन चाहन्छ। राष्ट्रको भविष्यमा आफ्नो लाहाछाप लगाउन चाहन्छ। यसअर्थमा एमाले विकल्प हुँदै होइन। नेता भुसालले कार्यभार पहिचान गरेर त्यसमा अघि बढ्नु चाहिँ अहिलेको विकल्प भएको बताए।