दीपक खड्काले कब्जा गरेको स्काउटको जग्गा र सामान जफत गर्ने तयारी
काठमाडौं । नेपाल स्काउटले आफ्नो जग्गामा निर्माण भएका संरचना र सो संरचनामा रहेका मालसामान जफत गर्ने चेतावनी दिएको छ ।
स्काउटले एक सूचना जारी गर्दै आफ्नै स्वामित्वमा रहेको जग्गा र सो जग्गामा निर्माण भएका संरचनाको बहालको बक्यौता रकम सात दिनभित्र तिर्न ताकेता गरेको हो । बक्यौता रकम सात दिनभित्र नतिरे अन्यथा जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरु जफत गर्ने स्काउटको प्रधान कार्यालयले चेतावनी दिएको छ ।
सूचनाअनुसार स्काउटको जग्गा र त्यहाँका संरचना खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले भाडामा सञ्चालन गर्दै आएको छ । खड्का ल्याण्ड डेभलपमेन्ट प्रालि पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दिपक खड्काको हो ।
तर, खड्का ल्याण्ड डेभलपमेन्टले भाडा चुक्ता नगर्दा स्काउटलाई अपूरणीय क्षति पुगेको सूचनामा उल्लेख छ । त्यसैले सात दिनभित्र बहालको बक्यौता रकम तिर्न अन्तिम मौका दिइएको सूचनामा उल्लेख छ।

