लुम्बिनीका मुख्यमन्त्रीको घरमा आगजनी गर्ने भुपू सैनिकसहित तीन जना पक्राउ
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको अर्घाखाँचीस्थित घरमा आगजनी र तोडफोड गर्ने तीन जना पक्राउ परेका छन् ।
सन्धिखर्क नगरपालिका– १ हटारीस्थित मुख्यमन्त्री आचार्यको घरमा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पुष्कर पौडेल, २९ वर्षीय गुरुदेव भनिने गुरुप्रसाद खनाल र ३९ वर्षीय चुडामणि ढुंगानालाई पक्राउ गरेको हो ।
उनीहरुलाई आपराधिक उपद्रवसम्बन्धी कसुरमा बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी इन्स्पेक्टर झलकप्रसाद शर्माले जानकारी दिए । प्रहरीका अनुसार पौडेल र खनाल व्यवसायी हुन् भने ढुंगाना भुपू सैनिक रहेको अनुसन्धानबाट खुलेको छ।
आगजनीमा संलग्न कमल घिमिरे, कुशल चुँदाली, अर्जुन चुँदाली, सुन्दर भारती, विशाल कँडेल, माधव भण्डारी, मदन परियार, विनोद मगर फरार रहेको र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।
