प्रहरी प्रेमको नाटक गरेर हतियार बरामद गर्दै
काठमाडौं ।जेन–जी आन्दोलनका नाममा भदौ २३ र २४ गते देशभर चलेको अराजक प्रदर्शनका क्रममा प्रहरीले लुटिएका हतियारमध्ये थप एक ग्यास गन फेला पारेको छ। बुधबार तीन थान हतियारसहित पक्राउ परेका पठाओ चालक शिवराज धमलाको बयानका आधारमा बिहीबार तीनकुनेबाट उक्त ग्यास गन बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले जानकारी दिए।
उक्त ग्यास गन बरामदसँगै जीवन चलाउने नामक एक युवक पनि पक्राउ परेका छन्। चलाउने तीनकुनेमा डेरा गरी बस्ने विद्यार्थी हुन्। पक्राउ परेका दुवै जना कैलाली, टीकापुरका बासिन्दा भएको प्रहरीले जनाएको छ। धमलाले आन्दोलनका बेला प्रहरीबाट हतियार लुटेर साथीको कोठामा राखेको र पछि बेचबिखन गर्ने तयारी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ।
महिला प्रहरीको ‘अन्डरकभर’ अपरेसन
शिवराज धमलालाई प्रहरीले बुधबार काठमाडौं तारकेश्वरबाट पक्राउ गरेको थियो। उनी पठाओ चालकका रूपमा काम गर्थे। तर,उनको पक्राउ शैली निकै चाखलाग्दो रहेको छ।
अपराध महाशाखामै कार्यरत एक महिला प्रहरीले सामाजिक सञ्जाल फेसबुकमार्फत धमलासँग मित्रता गाँस्नुभएको थियो। दुवै जनाबीच सामाजिक सञ्जालमा प्रेमिल कुराकानी चल्न थालेपछि धमला ती महिला प्रहरीप्रति आकर्षित बनेका थिए।
महिला प्रहरीले धमलालाई भेट्न बोलाएको ठाउँमा पुग्नेबित्तिकै प्रहरी टोलीले धमलालाई नियन्त्रणमा लिएको थियो। त्यसपछि प्रहरीले उनको डेरा खानतलासी गर्दा सर्टगन,इन्सास र एक थान पिस्तोलसहित रबर गन फेला पारेको थियो। सोही क्रममा धमलाले ग्यास गन भने साथी जीवन चलाउनेको कोठामा रहेको बयान दिएका थिए।
धमलाको बयानका आधारमा बिहीबार प्रहरीले तीनकुने पुगेर उक्त ग्यास गन बरामद गरेको हो। भदौ २४ गते भएको आन्दोलनका क्रममा लुटपाट,आगजनी,तोडफोड र अराजकता फैलाउने क्रममा प्रहरीका हतियार लुटिएका थिए।
ती घटनामा संलग्नको खोजी गर्दै जाँदा प्रहरीका विभिन्न युनिटले भिडिओ,निगरानी फुटेज र सूचनाहरूका आधारमा सयौं व्यक्तिलाई पहिचान गरेका छन्।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार हालसम्म प्रहरीले ४ हजारभन्दा बढी भिडियो फुटेज संकलन गरी तिनमा प्रत्यक्ष संलग्न व्यक्तिहरूको पहिचान सुरु गरेको छ।
प्रवक्ता काफ्लेले भन्नुभयो–अराजकता,आगजनी र लुटपाटमा संलग्न जो कोही भए पनि प्रहरी पक्राउ गर्न तयार छ। कुनै व्यक्तिको पेसा, हैसियत वा परिचयले कारबाही रोकिँदैन।
अपराध अनुसन्धान शाखाले सञ्चालन गरेको प्रारम्भिक अनुसन्धानले आन्दोलनमा पठाओ चालकहरूको सक्रिय संलग्नता देखाएको छ। प्रहरीका अनुसार धमलाले बयान दिँदै आन्दोलनमा पठाओका धेरै राइडर सहभागी भएको उल्लेख गरेका छन्। उनीहरूले सामाजिक सञ्जाल बन्द हुँदा आर्थिक कमाइ घटेकाले असन्तुष्ट भई आन्दोलनमा सहभागी भएको बताएका छन्।
त्यसो त पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यात स्वयंम जेन–जी आन्दोलनका मुख्य आह्वानकर्तामध्ये एक हुन। उनले आन्दोलनको आह्वानमात्र गर्नुभएको थिएन। लुटपाट र आगजनीका घटनालाई हाइलाइट गर्दै भिडियोसमेत सार्वजनिक गरेका थिए।
