कार्की नेतृत्वको सरकार दुई दिन पनि नटिक्ने ओलीको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई ‘असंवैधानिक र प्रतिगामी’ भन्दै दुई दिन पनि नटिक्ने दाबी गरेका छन् । शुक्रवार राजधानीमा एमाले शिक्षा तथा मानव स्रोत विभागले आयोजना गरेको ‘केपी ओलीसँग अन्तरसंवाद’ लाई सम्बोधन गर्दै उनले भने, ‘इतिहास छैन, परम्परा छैन, जनसमर्थन छैन, लुटपाट र आतङ्कको जगमा उभिएको यो सरकार दुई दिन पनि टिक्दैन ।
संविधानले स्पष्ट रूपमा रोकेको ठाउँमा पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री हुन मिल्दैन,’ओलीले भने, ‘जानीजानी संविधान उल्लंघन गरेर सत्तामा पुगेकी व्यक्ति नेतृत्वको यो सरकार सोझै असंवैधानिक हो, यो हावाको भरमा टिकेको हल्लाको सरकार हो।
उनले सरकार गठन प्रक्रियालाई पनि ‘डिस्कार्डबाट भएको भोटिङ’ भन्दै व्यङ्ग्य गरे । ‘दुई-तीन हजार केटाकेटी डिस्कार्डमा जम्मा पारेर भोट हालिएको रहेछ,’ उनले प्रश्न गरे, मतपत्र कस्तो थियो रु रेजा लगाइयो कि प्वाल पारियो रु कसले गन्यो ?
ओलीले यो सरकार न संविधानअनुसार बनेको न त जनअनुमोदित नै भएको जिकिर गरे। ‘२४ गतेको आगजनी, तोडफोड र अराजकताको बलमा जन्मिएको यो सत्ता लोकतन्त्र, संविधान, संसद् र जनप्रतिनिधित्वको शत्रु हो,’ओलीले भने। राजतन्त्रकालीन प्रतिगमन देखिने खालको भए पनि अहिलेको प्रतिगमन अदृश्य र कमजोर प्रकृतिको भएको उनको भनाइ छ ।
