एकीकृत समाजवादीको संयोजक तोकिए घनश्याम भुसाल
काठमाडौं । पार्टी एकता विवादपछि विभाजित नेकपा एकीकृत समाजवादीको पुनर्गठन पक्षधरले घनश्याम भुसाललाई संयोजक तोकेको छ । विभाजनपूर्व भुसाल पार्टी महासचिव थिए ।
शनिबार राति ६७ जना केन्द्रीय सदस्यको भर्चुवल मिटिङमार्फत उनलाई संयोजक तोकिएको हो । बैठकमा सहभागी केन्द्रीय सदस्य अमृतसागर बस्नेतका अनुसार एकीकृत समाजवादी पार्टी संयोजक भुसाललाई तोकिएको छ ।
उनका अनुसार बैठकले पार्टीको नाम, झण्डा र चुनाव चिह्न यथावत राख्ने, यद्यपि कानूनी र संसदीय व्यवस्थाका विषयलाई अध्ययन गर्दै आवश्यकताका आधारमा अगाडि बढ्ने निर्णय गरेको छ ।
यस्तै, विशेष महाधिवेशनअघि मंसिरमै राष्ट्रिय भेला आयोजना गरिने पनि बैठकले निर्णय गरेको छ । तर, त्यसका लागि मिति भने तोकिएको छैन । कतिपय नेता–कार्यकर्तामा रहेको अन्यौलता चिर्न सबैले पहल गर्ने पनि जुम बैठकले निर्णय गरेको बस्नेतले जानकारी दिए ।
