बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय

काठमाडौं । बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ ।

बङ्गलादेशको राजधानी ढाकास्थित इन्टरनेशनल क्राइम्स ट्रिब्यूनलले मानवताको अपराधमा पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सुनाएको हो ।

गत वर्ष जुलाई–अगस्टमा भएको विद्रोहका क्रममा मानवीय अपराध गरेको आरोप शेख हसिनामाथि लगाइएको थियो । भारतमा निर्वासनमा बसेकी हसिनाको अनुपस्थितिमै उनीविरुद्ध मुद्दा चलाइएको थियो।

अदालतले तत्कालीन गृहमन्त्री आसदुज्जामान खान कमाललाई मृत्युदण्डको सजाय सुनाएको छ । तत्कालीन प्रहरी प्रमुख अल ममूनलाई भने सरकारी गवाहा बनेका कारण ५ वर्षको सजाय सुनाइएको छ।

४५३ पृष्ठको फैसलाको प्रतिलिपि पढ्नुअघि न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारले यो फैसला छ भागमा सुनाइने जानकारी दिए। बंगलादेश टेलिभिजनले उक्त फैसलाको घोषणा प्रत्यक्ष प्रसारण गरेको थियो।