न्यायाधीशविरुद्ध परेको उजुरी छानबिन नभएको भन्दै सर्वोच्चमा रिट

काठमाडौं । न्याय परिषदमा न्यायाधीशहरू विरुद्ध परेको उजुरीको छानबिन नभएको भन्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ । अधिवक्ता प्रेमसिंह धामीले ४ जना न्यायाधीशविरुद्ध दिएको उजुरी छानबिन नभएको भन्दै न्याय परिषद् अध्यक्षसहित ६ जनालाई विपक्षी बनाई रिट पेस गरेका हुन् ।

जिल्ला न्यायाधीश पुष्पराज थपलिया, उच्च अदालतका न्यायाधीशहरू कृष्णराम कोइराला, चन्द्रमणि ज्ञवाली र टिकाराम आचार्यविरुद्ध परेको उजुरीको तत्काल छानबिनका लागि परमादेश माग गरेका छन् । सर्वोच्च अदालतले भने न्याय परिषदविरुद्ध परेको रिट अध्ययनको क्रममा रहेको जनाएको छ ।

अधिवक्ता धामीले खराब आचरण र कार्यक्षमता अभावको कारण देखाउँदै ललितपुर जिल्ला अदालत र उच्च अदालत पाटनका गरी चार न्यायाधीशविरुद्ध गत साउन ६ गते न्याय परिषदमा उजुरी दिएका थिए ।

धामीले न्यायाधीश कृष्णराम कोइरालाले आर्थिक लेनदेन गरी आफूसमेत अर्का एक व्यक्तिको चेक अनादर मुद्दामा एकतर्फी फैसला गरेको आरोप लगाउँदै न्यायाधीशमाथि कारबाही हुनुपर्ने माग गरेका थिए । कानुनअनुसार दुई वर्ष कैद सजाय तोकिसकेको र जरिवाना रकम तिर्नु नपर्ने भए पनि फैसलामा रकम उल्लेख गरेको धामीको दाबी छ ।

न्याय परिषद् एन २०७३ को दफा १७, १८ र १९ बमोजिम कुनै न्यायाधीशविरुद्ध उजुरी परेमा सो उजुरी सम्बन्धमा विपक्षी न्याय परिषद्ले आवश्यक कारबाही अगाडी बढाउनुपर्ने अनिवार्य कानुनी व्यवस्था रहेको भए पनि हालसम्म उजुरीको विषयमा कुनै कारबाही अगाडी नबढाएको अधिवक्ता धामीले रिटमा उल्लेख गरेका छन् ।