स्कुल बसको ठक्करबाट रौतहटमा दुई वर्षीय बालकको मृत्यु
रौतहट। रौतहटमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ। चन्द्रनिगाहपुर-गौर सडकखण्डअन्तर्गत जयनगरमा स्कुल बसको ठक्करबाट एक दुई वर्षीय बालकको मृत्यु भएको हो।
रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा शुक्रबार जयनगरबाट मानपुरतर्फ जाँदै गरेको प्रदेश–३–००१ ख १७२६ नम्बरको ओम एकेडेमी स्कुल बसले स्थानीय रंजन साहका २ वर्षका छोरा आदित्यकुमार साहलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
ठक्करपछि बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिए।
उनका अनुसार बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ।
बसलाई इलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएको र घटनापछि फरार चालकको खोजी कार्य तीव्र रूपमा भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
