नेपाल प्रिमियर लिग: पोखरालाई सुदूरपश्चिमले दियो १९४ रनको लक्ष्य
काठमाडौं। सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १९४ रनको लक्ष्य दिएको छ। कीर्तिपुर क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिगमा सुदूरपश्चिमले ७ विकेट गुमाएर १९३ रन बनायो।
सुदूरका लागि जोश ब्रोनले सर्वाधिक ६८ रन बनाए। त्यस्तै विनोद भण्डारी ४३, क्रिश लिन ३१,दिपेन्द्र सिंह ऐरी १५, स्कट कुग्गेलेजिन ८, हर्मित सिंह ४ रनमा र आरिफ शेख शून्यमा आउट भए। पोखराका लागि जिम्मी निसम तीन, डान डाउथवैट र आकाश चन्दले समान दुई रदुई विकेट लिए।
पहिलो खेलमा विराटनगर किङ्ससँग ५३ रनले हारेको पोखरा पहिलो जितको खोजीमा रहँदा साबिक उपविजेता सुदूरपश्चिम जितको लय कायम राख्ने लक्ष्यमा छ।
गत संस्करणको खराब प्रदर्शन बिर्साउने लक्ष्यमा रहेको पोखरा एभेन्जर्सको यो संस्करण पनि सुखद हुन सकेन। प्रतियोगिताको तेस्रो तथा आफ्नो पहिलो खेलमा विराटनगरसँग ५३ रनको फराकिलो अन्तरले हारेको पोखरा पुनरागमनको प्रतिक्षामा छ। एनपिएल इतिहासमै सर्वाधिक उच्च २२१ रनको लक्ष्य पछ्याएको थियो।
यता, अप्रत्यासित प्रदर्शन गर्दै काठमाडौं गोर्खाजविरुद्ध २९ रनको रवाफिलो जित निकालेको सुदूरपश्चिम विजयी यात्रा जारी राख्न चाहन्छ। यस पटकको बलियो दाबेदार सुदूरपश्चिमले खराब सुरुवातका बाबजुद मध्यक्रमले ब्याटिङ सम्हाल्दा बलिङमा एक पक्षीय प्रदर्शन गरेको थियो।
गत संस्करण पोखरा र सुदूरपश्चिमबीच लिग चरणमा एक खेल भएको थियो। जहाँ सुदूरपश्चिमले ५ रनको झिनो अन्तरको जित निकालेको थियो।
