फागुन २१ को चुनावमा भाग लिने दलको संख्या १०८ पुग्यो

काठमाडौं । आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि १ सय ८ राजनीतिक दलले निवेदन दर्ता गराएका छन् ।

निर्वाचन आयोगका अनुसार फागुन २१ को निर्वाचनमा भाग लिनका लागि बिहीबार बेलुकासम्म १०८ राजनीतिक दलले निवेदन दिएका हुन् ।

आयोगका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्ममा १ सय ६ दलले दल दर्ता गराएकामा दल दर्ताका लागि थपिएको ४ दिनको समयमा पहिलो दिन बिहीबार थप २ दल दर्ता भएका हुन् ।

बुधबार साँझ मात्रै आयोगले निर्वाचन प्रयोजनका लागि ४ दिन म्याद थप गर्ने निर्णय गरेसँगै बिहीबार थप २ दल दर्ता भएका हुन् । बिहीबार थपिने २ दलमा प्रेमकुमार थाम्सुहांग नेतृत्वको नागरिक बचाउ दल नेपाल र प्रकाश खड्का नेतृत्वको नेपाल जनसेवा पार्टी रहेका छन् ।

पुराना र नयाँ दल गरेर अहिलेसम्म आयोगमा १ सय ३९ दलको दर्ता कायम रहेकोमा १ सय ८ दल आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि दर्ता भएका आयोगका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

अहिलेसम्म दर्ता भएका दलमा आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा १८ वटा नयाँ दलले पहिलो पटक निर्वाचनमा भाग लिने भएका छन्।

आयोगका अनुसार जेनजी आन्दोलनपछि दर्ता भएका २१ वटा नयाँ दलमध्ये बिहीबार साँझसम्म १८ वटा दलले आगामी निर्वाचनमा भाग लिनका लागि दल दर्ता गराएका हुन्।

पहिलो पटक भाग लिन लागेका दलमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)देखि धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ लगायतका दल रहेका छन्।