बजार अनुगमनमा पाँच हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना
काठमाडौं। चाडबाडको समयमा मात्रै बजार अनुगमन गरेको र अन्य समयमा भने चुपचाप बस्ने आरोप खेप्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग सक्रिय बनेको छ।
विभागले शुक्रबार मात्रै काठमाडौँकाआठ उद्योग तथा फर्मको अनुमगन गरेको थियो । त्यसक्रममा क्रिष्टल स्टोर तारकेश्वर गोलढुङ्गालाई दुई लाख पाँच हजार जरिवाना गरेको छ। विभागले अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ बमोजिम कारवाही गरेको हो ।
ऐनको दफा ३९ मा ‘बजार अनुमगन, निरीक्षण, जाँचबुझ वा खानतलासीको क्रममा तत्काल प्राप्त प्रमाणबाट वस्तुको उत्पादक, ढुवानीकर्ता, सञ्चयकर्ता,पैठारीकर्ता,बिक्रेता वा सेवा प्रदायकले देहायको कुनै कसुर गरेको देखिएमा उसलाई निरीक्षण अधिकृतले जरिवाना गर्न सक्नेछन् ।
ऐन अनुसार अनुचित व्यपारिक क्रियाकलाप गरेको पाइएको खण्डमा निरीक्षण अधिकृतले दुई लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ।
विभागले काठमाडौँ महानगरपालिका ३१ नयाँ बानेश्वरमा अवस्थित घुम्ने किचेनलाई २० हजार रुपैयाँ जरिवाना गरेको छ। सिनामङ्गलको ग्रिन बड्स बेकरी क्याफेलाई पाँच हजार जरिवाना गरेको छ।
ललितपुरको सुमेरु अस्पताल परिसरमा रहेको क्यान्टिनलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ। अन्य तीन फर्मलाई भने सामान्य निर्देशन दिएको छ।
