एमालेमा प्रतिनिधि छनोटमै देखियो ओली-पोखरेलबीच तीव्र भिडन्त,तल्लो तहसम्म पुग्यो ध्रुवीकरण
रनसुर महतारा (रमेश)
काठमाडौं। नेकपा एमालेको ११औँ महाधिवेशनका लागि असली भिडन्त सुरु भएको छ। साढे ६ लाख सक्रिय सदस्यहरू औपचारिक रुपमा चुनाव प्रक्रियामा होमिएसँगै पार्टीभित्रको आन्तरिक राजनीतिले नयाँ मोड लिएको छ। अधिकांश प्रतिनिधि छनोट भइसकेको भए पनि केही क्षेत्रमा विवाद कायम रहँदा पार्टीभित्रको शक्ति समीकरण स्पष्ट हुन थालेको छ।
महाधिवेशनको तयारी अघि बढ्दै जाँदा पार्टीभित्र दुई स्पष्ट धार देखिएका छन्। एकातर्फ अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको समूह छ भने अर्कोतर्फ वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा रहेको समूह सक्रिय छ। यो द्वन्द्व केवल केन्द्रीय तहमा मात्र सीमित नभई तल्लो तहसम्मका नेता कार्यकर्ताहरू ध्रुवीकृत भएका छन्।
अहिलेको केन्द्रीय कमिटीमा अध्यक्ष ओली पक्षकै बहुमत भए पनि महाधिवेशनका लागि प्रतिनिधि छनोट हुने क्रममा वरिष्ठ उपाध्यक्ष पोखरेल आफ्नो पक्षमा प्रतिनिधि तान्ने प्रयत्नमा जुटेका छन्। यसले पार्टीभित्र नयाँ शक्ति सन्तुलन निर्माण हुने सम्भावना देखाएको छ। केन्द्रीय कमिटीमा ओली पक्षको बहुमत भए पनि जिल्ला तहबाट आउने प्रतिनिधिहरूको झुकाव कहाँ छ भन्ने कुरा भने महाधिवेशनमा मात्र स्पष्ट हुने देखिएको छ।
प्रतिनिधि छनोटकै क्रममा विभिन्न जिल्लामा विवाद र कुटपिटसम्मका घटना भएका छन्। विशेष गरी मोरङ, धनकुटा र ओखलढुङ्गा लगायतका जिल्लामा प्रतिनिधि छनोटका क्रममा ओली पक्ष र पोखरेल पक्षबीच तीव्र विवाद भएको थियो। यी जिल्लाहरूमा दुवै पक्षले आफ्नो प्रभाव देखाउन खोज्दा झडप हुन पुगेको हो।
केही जिल्लामा सुरुमै ओली पक्षले आफ्नो विपक्षी समूहका नेता कार्यकर्तालाई मतदाता हुन नदिएको गम्भीर आरोप समेत लागेको छ। यस्ता आरोपले पार्टीभित्रको लोकतान्त्रिक प्रक्रियामाथि नै प्रश्न खडा गरेको छ। प्रतिनिधि छनोटको प्रक्रिया निष्पक्ष र पारदर्शी हुनुपर्नेमा केही स्थानमा त्यसको उल्लङ्घन भएको भन्ने गुनासो पोखरेल पक्षबाट उठेको छ।
यस्ता घटनाक्रमले ओली र पोखरेलबीच द्वन्द्वको स्पष्ट संकेत दिएको छ। पार्टीको केन्द्रीय तहदेखि जिल्ला, नगर र गाउँ तहसम्मका नेता कार्यकर्ताहरू दुई समूहमा विभाजित भएर महाधिवेशनतर्फ अघि बढिरहेका छन्। यो विभाजनले पार्टीको एकताको सट्टा आन्तरिक प्रतिस्पर्धालाई बढावा दिएको छ। तल्लो तहका कार्यकर्ताहरू आ-आफ्नो समूहको पक्षमा सक्रिय रुपमा काम गरिरहेका छन्।
यसले आगामी महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा हुने सम्भावना अत्यन्तै बलियो बनाएको छ। पार्टी एकताको नाममा सर्वसम्मत नेतृत्व छनोट गर्ने परम्परा तोड्दै यसपटक खुला प्रतिस्पर्धा हुने संकेत देखिएको हो। यसले एमाले राजनीतिमा नयाँ अध्याय थप्ने सम्भावना छ।
तर, तेस्रो पटक अध्यक्ष बन्नका लागि पार्टी विधान नै संशोधन गरेका ओलीले भने सार्वजनिक रुपमा फरक स्वर निकालेका छन्। उनले सकेसम्म नेतृत्वमा पनि सर्वसम्मतिका लागि आह्वान गर्दै स्वच्छ र खुला प्रतिस्पर्धा गर्न सबैलाई आग्रह गरेका छन्। यो अवस्थिति एकातर्फ लोकतान्त्रिक मूल्य मान्यताको पक्षधर देखिए पनि अर्कोतर्फ आफ्नो नेतृत्वप्रति आत्मविश्वास रहेको संकेत गरेका छन्।
११औँ महाधिवेशनको लोगो सार्वजनिक गर्ने कार्यक्रममा आफ्ना प्रतिस्पर्धी मानिएका पोखरेलको छेवैमा बसेर ओलीले लोकतान्त्रीकरणको विषयमा ठूलो चर्चा गरेका थिए। उनले पार्टीभित्र लोकतान्त्रिक संस्कार विकास गर्नुपर्ने, खुला बहस हुनुपर्ने र सबैको सहभागिता सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिएका थिए। यो अवसरमा उनले प्रतिस्पर्धालाई स्वस्थ र रचनात्मक बनाउन सबैलाई आग्रह गरेका थिए।
ओलीको यो सार्वजनिक अभिव्यक्तिले पार्टीभित्रको वर्तमान तनावलाई कम गर्ने र आफूलाई लोकतान्त्रिक नेताका रूपमा प्रस्तुत गर्ने रणनीतिका रूपमा लिइएको छ। तर, तल्लो तहमा भने दुवै पक्षबीच भिडन्त जारी रहेको छ।जिल्ला तहका कार्यकर्ताहरूबीच प्रतिस्पर्धा दिनहुँ तीव्र हुँदै गइरहेको छ।
पार्टीका केही नेताहरू दुवै पक्षबीच मध्यस्थताको भूमिका खेल्न खोजिरहेका छन्। उनीहरूले सर्वसम्मत नेतृत्वका लागि वार्ता र समझदारीको वातावरण बनाउन प्रयास गरिरहेका छन्। तर, अहिलेसम्म यस्तो प्रयास सफल हुने संकेत देखिएको छैन। प्रतिनिधि छनोट प्रक्रियामा देखिएको तीव्र प्रतिस्पर्धाले सर्वसम्मतिको सम्भावना क्रमशः कम हुँदै गएको छ।
महाधिवेशन नजिकिँदै जाँदा यो प्रतिस्पर्धा अझ तीव्र हुने निश्चित छ। साढे ६ लाख सक्रिय सदस्यहरूबाट छनोट भएका प्रतिनिधिहरूले अन्ततः पार्टीको भविष्य निर्धारण गर्नेछन्। उनीहरूको निर्णयले एमालेको आगामी नेतृत्व र दिशा तय हुनेछ।
पार्टी एकताको नाममा सधैं सर्वसम्मत नेतृत्व ल्याउने एमालेमा यसपटक खुला प्रतिस्पर्धा हुनसक्ने अवस्था बनेको छ। यसले पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन सक्छ वा पार्टीमा विभाजन ल्याउन सक्छ भन्ने दुवै सम्भावना बलियाे देखिएका छन्। आगामी दिनहरूमा यो द्वन्द्व कसरी अगाडि बढ्छ र अन्ततः महाधिवेशनमा के परिणाम आउँछ भन्ने कुरा हेर्न बाँकी छ।
कर्ण थापा झन्डै कुटिए
त्यस्तै नेकपा एमालेभित्रको आन्तरिक राजनीति चर्किँदै गएको छ। आगामी महाधिवेशनको तयारीसँगै पार्टीभित्र विभिन्न समूहबीच टकराव बढ्दै गएको हो। पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहबीच देखिएको भिडन्तले एमालेलाई नयाँ मोडमा ल्याएको देखिन्छ।
पार्टीको भर्खरै सम्पन्न पोलिटब्यूरो बैठकमा स्थायी कमिटी सदस्य कर्ण थापा र अध्यक्ष ओलीबीच चर्को सवालजवाफ भएको बुझिएकाे छ। थापाले बैठकमा ७० वर्षे उमेरहद र दुई कार्यकालको विषय उठाएपछि ओलीले रोकेका थिए। थापाको तर्क थियो कि जब ओली ६० वर्षका थिए तब उनले यो विषय उठाएका थिए, अहिले ओली ७० वर्ष पुगेपछि किन यो कुरा उठाउन नहुने भन्ने थियो।
विधान महाधिवेशनमा कर्ण थापाको फरक मत पेश हुन पाएन। अध्यक्ष ओलीले समय नदिएपछि थापाले आफ्नो फरक मत राख्न नपाएको गुनासो गरेका थिए। यसले पार्टीभित्रको लोकतान्त्रिक संस्कारमाथि नै प्रश्न खडा गरेको छ।
आगामी महाधिवेशनमा अध्यक्ष पदको लागि केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आमनेसामने हुने भएका छन्। विद्या भण्डारी निकट कर्ण थापा पोखरेल समूहबाट पदाधिकारीमा चुनाव लड्ने तयारीमा रहेका छन्। यसले एमालेमा नयाँ समीकरण बन्ने संकेत गरेको छ।
प्रतिनिधि चयन प्रक्रिया टुंगिएसँगै अब पार्टीभित्र पदाधिकारीका लागि नेताहरूबीच खुला भिडन्त सुरु भएको छ। ओली र पोखरेल समूहबीच देखिएको यो टकराव आगामी दिनमा झन् तीव्र हुने संकेत देखिएको छ। पार्टी एकताको नाममा चलेको एमालेमा अब विभाजनको रेखा स्पष्ट हुँदै गएको छ।
पार्टीका स्थायी कमिटी सदस्य कर्ण थापालाई पार्टी कार्यालयमै कुटपिट प्रयास गरिएकाे भिडियाे समाजिक सञ्जालमा भाइरल गरिएकाे थियाे। तर, पार्टीभित्रको टकरावले थापा लगायतका नेताहरू ओलीकाे निशानामा परेकाे स्पष्ट देखिन थालेकाे छ। एमालेभित्रको यो टकराव र भिडन्तले पार्टीलाई कुन दिशामा लैजान्छ भन्ने कुरा हेर्न बाँकी छ।
